उपाध्यक्षमा यज्ञराज बैजको उम्मेदवारी
महेन्द्रनगर – निर्माण व्यवसायी संघ कञ्चनपुरको आसन्न १५ औं अधिवेशनमा यज्ञराज बैजले उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन्। थोरै बोल्ने, सबैलाई आदर–सम्मान गर्ने र सबैको मन मुटुमा बस्न सक्ने छवि बनाउन सफल बैज हाल कार्यसमितिको सह–कोषाध्यक्षसमेत रहेका छन्।
डेढ दशकदेखि निर्माण व्यवसाय र संघमा आबद्ध बैज व्यवसाय मात्र नभई सामाजिक क्षेत्रमा समेत सक्रिय छन्। उनले २०६६ सालमा शैलेश्वरी निर्माण सेवा कम्पनी दर्ता गरेर व्यवसाय सुरु गरेका थिए। सोसँगै संघमा समेत आवद्ध हुँदै उनले विभिन्न जिम्मेवारी वहन गरेका छन्।

तीन वर्षसम्म कार्यसमिति सदस्य र हाल सह–कोषाध्यक्षका रूपमा रहेर उनले लगातार ६ वर्ष संघको नेतृत्व सम्हालेका छन्। व्यवसायीहरूको समस्या समाधानमा सधैं सक्रिय देखिएका कारण उनी व्यवसायीबीच लोकप्रिय बनेका छन्।
“निर्माण व्यवसायमै यत्तिका वर्ष बिताएँ। यसलाई सबैले आदर्श मान्ने पेशा बनाउन मेरो ध्येय हो,” बैजले भने, “साना व्यवसायी सधैं मारमा परेका हुन्छन्, उनीहरूलाई कसरी उकास्ने भन्नेमा मेरो जोड रहनेछ।”
उनले संघलाई कार्यालय र व्यवसायीबीचको सेतुका रूपमा सक्षम बनाउनुपर्नेमा जोड दिए। संघ बाहिर रहेका व्यवसायीलाई समेत आवद्ध गराउन पहल गर्ने योजना रहेको उनले बताए।
निर्माण व्यवसायी संघ कञ्चनपुरको १५ औं अधिवेशन भदौ २० र २१ गते महेन्द्रनगरमा हुँदैछ। पहिलो दिन साधारणसभा र उम्मेदवारी दर्ता हुने कार्यक्रम छ भने दोस्रो दिन निर्वाचन सम्पन्न हुने तय भएको छ।