महेन्द्रनगर : युवा व्यवसायी दिल बहादुर सिंह व्यवसाय क्षेत्रमा मात्रै होइन, धेरैका लागि परिचित नाम हुन्। विशेषगरी दोधारा चाँदनी क्षेत्रमा उनी अझ बढी परिचित छन्। तिनै सिंह निर्माण व्यवसायी संघ कञ्चनपुरको आसन्न १५ औं अधिवेशनमा कोषाध्यक्ष पदका लागि उम्मेदवार बनेका छन्।
१६ वर्षदेखि निर्माण व्यवसायमा सक्रिय रहेका सिंह हाल संघको कार्यसमितिमा सदस्यका रूपमा जिम्मेवारी सम्हालिरहेका छन्। तर, निर्णायक तहमा नभएकाले आफूले चाहेअनुसारको काम अघि बढाउन नसकेको उनले बताए। ‘अहिले अधुरा रहेका काम पूरा गर्न पदाधिकारी भएरै अघि बढ्ने लक्ष्य बनाएको छु,’ सिंहले भने।
२०६४ सालमा दिमुक निर्माण सेवा दर्ता गरेर व्यवसाय सुरु गरेका उनी त्यसयता संघसँग पनि आबद्ध छन्। उनले संघमा आवद्ध भएका भन्दा बढी व्यवसायी बाहिर रहेको भन्दै, सबैलाई संघमा जोडेर उनीहरूको हकहितका लागि पहल गर्ने प्रतिबद्धता जनाए।
सिंहले भने, ‘संघमा नआएकाहरुलाई पनि आवद्ध गराएर उनीहरूको हितमा योजना बनाउनुपर्छ भन्ने मेरो धारणा हो।’
यसपटक सिंह पुष्पराज अवस्थीको प्यानलबाट कोषाध्यक्षमा उम्मेदवार बनेका छन्। अवस्थी प्यानलले संघबाहिर रहेका व्यवसायीलाई संघमा ल्याउने, ल्याब स्थापना गर्ने, साना व्यवसायीका हकहितमा काम गर्ने र कार्यालय–व्यवसायीबीचको सम्बन्ध सहज बनाउन एजेण्डा अघि सारेको छ।
सिंहले भने, ‘अहिले निर्माण व्यवसायीले प्राविधिक परीक्षण वा ल्याबका कामका लागि धनगढी वा नेपालगञ्ज धाउनुपर्ने बाध्यता छ। यो समस्या अन्त्य गर्ने हाम्रो योजना छ।’ साथै, उनले साना तथा ठूला सबै व्यवसायीको हकहितमा काम गर्नुका साथै खरिद ऐन सुधारदेखि विभिन्न तालिमहरू उपलब्ध गराउने तयारी रहेको जानकारी दिए।
निर्माण व्यवसायी संघ कञ्चनपुरको १५ औं अधिवेशन भदौ २० देखि २१ गतेसम्म महेन्द्रनगरमा हुने कार्यक्रम तय भएको छ।
