कुलिङ पिरियड’ राख्ने पक्षमा आफू सुरुदेखि नै रहेको बताएका छन्
काठमाडौं, २० साउन – राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समिति’ को प्रतिवेदन अध्ययन गरेपछि मात्रै यसबारे आवश्यक निर्णय लिने बताएका छन्।
छानबिन समितिले विधेयकमा ‘कुलिङ अफ पिरियड’ निष्क्रिय हुने भाषा प्रयोग हुनुलाई गम्भीर गल्तीको रूपमा औंल्याएको छ। समितिले उक्त गल्तीमा राजनीतिक र नैतिक जिम्मेवारी सभापति खतिवडाको रहेको प्रतिवेदनमा उल्लेख गरेको छ। यस विषयमा अनलाइनखबरसँग कुरा गर्दै खतिवडाले आफूले प्रतिवेदन नहेरेको र ‘कुलिङ पिरियड’ राख्ने पक्षमा आफू सुरुदेखि नै रहेको बताएका छन्। उनले भने,
रिपोर्ट हेरेर के गर्ने भनेर नेतृत्वसँग सल्लाह गरेर निर्णय गर्छु।
प्रतिवेदनमा हस्ताक्षर गरे पनि त्रुटिको जिम्मेवारी अरूको पनि हुने खतिवडाको भनाइ छ। विधेयकमा भएको गल्तीबारे कानुन मन्त्रालय र सम्बन्धित मन्त्रालयको पनि जिम्मेवारी हुने उनको तर्क छ। उनी भन्छन्, ‘सभापति मै हुँ, तर पारित गर्ने त संसद पनि हो। समग्र संसदले पारित गरेको नियम होला।’

छानबिन समितिले आफूलाई नैतिक रूपमा जिम्मेवार भनेको विषयमा खतिवडाले भने, ‘नैतिक भनेको सही गरेको आधारमा होला। हामीले सही गरेर पठाएपछि संसदमा पनि १५ दिनसम्म रहेको थियो। सबै माननीय सदस्यले हेरेर अगाडि बढेको हो।’
उनले आफूहरूको आँखा नपुगे पनि प्रतिनिधि सभाका २७५ जना सांसदले विधेयक हेरेको र सबैको आँखा पुगेको बताए। यद्यपि, समिति सभापतिको हैसियतले आवश्यक जिम्मेवारी लिन तयार रहेको पनि उनको भनाइ छ।
छानबिन समिति गठन भएदेखि नै आफूले नैतिकता प्रदर्शन गरिरहेको खतिवडाले बताएका छन्। उनले भने, ‘छानबिन समिति बनेदेखि राज्य व्यवस्था गएको छैन। मैले गाडी फिर्ता गरेको छु। मिटिङ राखेको छैन। मैले नैतिकता प्रदर्शन त त्यही दिनदेखि गरिराखेको छु।’