महेन्द्रको शालिक स्थापना निर्वाचनपछि हुने

महेन्द्रनगर ।
राजा महेन्द्रको शालिक स्थापनाको विषयलाई लिएर महेन्द्रनगरमा चर्चा चुलिँदै गएको बेला कञ्चनपुर जिल्ला समन्वय समितिका प्रमुख दुर्गा बोहराले शालिक स्थापना गर्ने विषयमा कसैको पनि विमति नरहेको स्पष्ट पारेका छन्।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन र लागू निर्वाचन आचारसंहिताका कारण तत्काल शालिक स्थापना गर्न स्थानीय प्रशासनले रोक लगाएको प्रमुख बोहराले जानकारी दिए। निर्वाचनका समयमा आचारसंहिता पालना गराउनु राज्यको दायित्व भएकाले अहिले शालिक स्थापना रोकिएको उनको भनाइ छ।

“राजा महेन्द्रको शालिक स्थापना गर्न कसैको आपत्ति छैन, न त कुनै विमति नै छ,” प्रमुख बोहराले भने, “तर देश निर्वाचन प्रक्रियामा गइसकेको अवस्थामा आचारसंहिता पालना अनिवार्य हुन्छ।”

निर्वाचन सम्पन्न भएपछि भीमदत्त नगरपालिकासँग समन्वय गरी शालिक स्थापना गरिने उनले बताए। साथै, राजा महेन्द्रको शालिक मात्र नभई महेन्द्रनगर बजार क्षेत्रमा रहेका अन्य शालिकहरूको समेत मर्मत–सम्भार र पुनःस्थापना आवश्यक रहेको उनको भनाइ छ।

उनका अनुसार बजार क्षेत्रमा रहेका आधा–अधुरा कदका प्रतिमाहरूलाई पूर्णकदको बनाउने, सडक निर्माणका क्रममा हटाइएको पुष्पलाल चोकमा रहेको पुष्पलालको शालिक पुनःस्थापना गर्न बाँकी रहेको छ। “यो विषय केवल एक राजाको शालिकसँग मात्र सीमित छैन, बजारको सौन्दर्यकरणसँग जोडिएको विषय हो,” उनले भने।

केही दिनयता स्वतन्त्र युवा भन्ने समूहले महेन्द्रनगर बजारस्थित सब्जीमण्डी नजिकको पुरानो महेन्द्र स्मारकमा राजा महेन्द्रको शालिक स्थापना गर्नुपर्ने माग गर्दै आएका छन्। अनुमति बिना फागुन ३ गते शालिक स्थापना गर्ने उद्देश्यले ती समूहले स्मारक परिसरमा रंगरोगन तथा लाइटिङ गरेपछि स्थानीय प्रशासनले रोक लगाएको थियो।

प्रशासनको रोकपछि आक्रोशित युवा समूहले फागुन ३ गते जसरी भए पनि शालिक स्थापना गर्ने अडान लिएका छन्। सो दिन महाशिवरात्रि पर्वका कारण महेन्द्रनगर बजार क्षेत्रमा ठूलो भीड लाग्ने भएकाले सम्भावित दुर्घटनाको जोखिम रहेको भन्दै प्रशासनले रोक लगाएको जनाएको छ।

निर्वाचन आचारसंहिता लागू रहेको अवस्थामा पर्वको दिन रोजिएकाले पनि प्रशासन थप सशंकित बनेको हो। जिल्ला समन्वय समितिका प्रमुख बोहराले निर्वाचनपछि शालिक स्थापना हुने भएकाले धैर्य गर्न युवाहरूलाई आग्रह गरे।

“फागुन २१ गतेपछि शालिक स्थापना हुन्छ भन्नेमा ढुक्क हुनुहोस्,” उनले भने, “तर बलजफ्ती गरिएमा प्रशासनले रोक लगाउँछ।”

इतिहासअनुसार राजा महेन्द्रकै पालामा महेन्द्रनगर बजारको स्थापना भएको हो। उनकै नामबाट शहरको नामाकरण गरिएको थियो। बजारको मुख्य भागमा रहेको उनको शालिकसहितको क्षेत्र ‘महेन्द्र स्मारक’ भनेर चिनिन्थ्यो।

२०६२/६३ को जनआन्दोलनका क्रममा तत्कालीन राजा ज्ञानेन्द्र आन्दोलनको मुख्य निशाना बनेपछि देशभर राजाविरुद्ध आन्दोलन चर्किएको थियो। सोही क्रममा आन्दोलनकारीले राजा महेन्द्रको शालिक तोडफोड गरेका थिए। आन्दोलनपछि देश गणतन्त्रमा गयो र महेन्द्र स्मारकको नाम परिवर्तन गरी ‘संविधान चोक’ राखियो।

यसअघि पनि शालिक पुनःस्थापनाको विषय नउठेको होइन। तर गणतन्त्र स्थापनाको करिब दुई दशकपछि फेरि राजा महेन्द्रको शालिक स्थापना गर्ने विषय चुलिएको हो।

प्रशासन निर्वाचनअघि शालिक स्थापनाको पक्षमा नरहेको र आवश्यकता परे बल प्रयोग गरेर पनि रोक्ने तयारीमा रहेको जनाइएको छ। शालिक स्थापनाका पक्षधरले अडान नछाडेपछि चुनावी माहोल र महेन्द्रनगर बजार क्षेत्रमा पुनः अशान्ति फैलिने सम्भावना बढेको छ।

More From Author

रमेश लेखकको प्रभाव क्षेत्रमै हरि बोहराको अग्नीपरीक्षा ?

इजरायल उद्धारदेखि निर्वाचन मैदानसम्म : एनपी साउदको भूमिकाको समीक्षा

Leave a Reply

Your email address will not be published. Required fields are marked *