महेन्द्रनगर – कञ्चनपुर जिल्ला प्रशासन कार्यालयले महेन्द्रनगर बजार क्षेत्र र अन्य पालिका केन्द्रहरूमा मंगलबारदेखि निषेधाज्ञा लागू गरेको छ ।
प्रमुख जिल्ला अधिकारी (सीडीओ) लक्ष्मण ढकालले जनताको जीउधनको सुरक्षा र सार्वजनिक शान्ति कायम राख्न कदम आवश्यक भएको बताएका छन् ।
सीडीओ ढकालका अनुसार जिल्लाका केही क्षेत्रहरूमा हालै आगजनी, ढुङ्गामुढा र तोडफोड बढेकाले प्रशासनले तत्काल निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा मंगलबार बिहान ११:०० बजेदेखि लागू भइसकेको छ र अर्को आदेश नभएसम्म कायम रहनेछ ।

यसैबिच, प्रशासनले ५ वा सोभन्दा बढी व्यक्तिको भेला, जुलुस, सभा वा प्रदर्शन गर्ने कार्य पूर्ण रूपमा निषेध गरेको छ । उल्लंघन भएमा सुरक्षाकर्मीले कानूनी प्रक्रियाअनुसार नियन्त्रणमा लिएर कारबाही गर्न सक्ने चेतावनी पनि जारी गरिएको छ ।
निषेधाज्ञा लागू हुने क्षेत्रहरूमा महेन्द्रनगर बजार र वरिपरि ३ किलोमिटर क्षेत्र, पूर्वपश्चिम राजमार्गको दायाँ–बायाँ ३ किलोमिटर क्षेत्र र बेलौरी, पुनर्वास, बेलडाँडी तथा लालझाडी पालिका केन्द्रका बजार क्षेत्रहरू समावेश छन् । प्रशासनले सबै नागरिकलाई शान्ति र सद्भाव कायम राख्न आग्रह गरेको छ ।