धनगढीबाट आएर कञ्चनपुर कारागारमा ‘एक्सन’ ! यसरी भए सबै कैदीबन्दी मुक्त

महेन्द्रनगर : जेनजी आन्दोलनको मौका पार्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने थुनामुक्त भएपछि देशभरका कारागारहरूबाट कैदीबन्दी मुक्त गर्ने लहर चल्यो । सोही क्रममा कञ्चनपुर कारागार पनि प्रभावित भयो ।

कञ्चनपुर कारागारमा रहेका करिब ५०० कैदी मंगलबार बेलुकी जेलबाट बाहिरिएका छन् । कारागारमा खटिएका सुरक्षाकर्मी र प्रशासनले सबै गेटमा ताला लगाएका बेला बाहिरबाट आएका व्यक्तिहरूले ताला तोडेर कैदीलाई मुक्त गरेको खुलेको छ ।

‘साँझपख प्रहरी काउन्टिङ सकेपछि सबै कैदीलाई क, ख, ग ब्लकका १८ कोठा र प्यारामिटरमा राखिएको थियो । सबै कोठामा ताला लगाइएको थियो । कारागारको मुलगेटमा सुरक्षाकर्मीले ताला लगाएका थिए भने बाहिरको अवस्था देखेर कैदीहरूले भित्रबाट पनि ठूलो ताला लगाएर बसेका थिए,’ एक मुक्त कैदीले अभियानसँग बताए ।

तर केहीबेरमै बाहिरबाट आएका समूहले रड र सरियाको प्रयोग गरी मुलगेट र भित्री ढोकाका तालासमेत तोडेका थिए । कैदी स्रोतका अनुसार, समूहले ब्लक–ब्लकका ढोका फोड्दै ‘तिमिहरुको रिहाई भयो, छिटो निस्कनुस्’ भन्दै दबाब दिएका थिए । सुरक्षाकर्मी पनि लाचार भएपछि सबै कैदी बाहिरिएका हुन् ।

धनगढीबाट समेत मान्छे आएका प्रमाण भेटिएको छ । उनीहरू साँझ करिब ६ बजेतिर महेन्द्रनगर कारागार प्रवेश गरेको बताइएको छ । सोही बेला महेन्द्रनगर बजारमा प्रदर्शनकारीले विभिन्न सरकारी कार्यालय र घरमा आगजनी गरिरहेका कारण प्रहरी बजार सुरक्षामा व्यस्त थियो ।

एक मुक्त कैदीले भने, ‘मेरो कैद पूरा हुन केही दिन मात्र बाँकी थियो, म बाहिर जाँदिन भने पनि धम्की दिएर बाहिर पठाइयो । त्यसपछि मोटरसाइकलमा रहेका युवाले मलाई बजार १ नम्बर गल्लीमा पुर्‍याउनुस् भन्दा उनीहरूले “हामी धनगढीबाट आएका हौं, १ नम्बर गल्ली कहाँ हो, थाहा छैन” भने ।’

यसअघि कैलालीमा दिउँसो कैदीलाई आन्दोलनकारीले मुक्त गराएको र सोही समूह महेन्द्रनगर आएको अनुमान गरिएको छ ।

कैदी कारागारबाट बाहिरिएपछि भारततर्फ प्रवेश गर्ने आशंका बढेपछि नेपाल–भारत सीमामा भारतीय एसएसबीले आवतजावत रोकिदिएको छ ।


More From Author

देशैभर सेना परिचालन : दिउँसो निषेधाज्ञा र राति कर्फ्यु !

अनवरत सेवारत वडाध्यक्ष भुन्टु !

Leave a Reply

Your email address will not be published. Required fields are marked *