समग्र विकास, शिक्षा–स्वास्थ्य सुधार र पूर्वाधार विस्तारमा जोड
महेन्द्रनगर| कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमाले का उम्मेदवार दीपकप्रकाश भट्टले २२ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन्। उनले समग्र विकास, सुशासन, शिक्षा–स्वास्थ्य सुधार, रोजगारी सिर्जना र पूर्वाधार विस्तारलाई प्राथमिकतामा राख्ने बताएका छन्।
सुशासन र कानुनी सुधार
भट्टले जनजीविका सुधारलाई केन्द्रमा राख्दै कानुन संशोधन, दण्डहीनताको अन्त्य तथा जनमुखी कानुन निर्माण र प्रभावकारी कार्यान्वयनमा जोड दिने प्रतिबद्धता जनाएका छन्। संघीय, प्रदेश र स्थानीय सरकारबीच समन्वय सुदृढ गरी प्रशासनिक संरचनामा सुधार ल्याउने उनको भनाइ छ।
शिक्षा क्षेत्रका योजना
सुदूरपश्चिम विश्वविद्यालय मा रोजगारमुखी कार्यक्रम विस्तार गर्दै हर्बल साइन्स, स्पोर्ट्स साइन्स एन्ड म्यानेजमेन्ट, एआई, जलवायु परिवर्तन तथा विपद् जोखिम व्यवस्थापनजस्ता विषय थप्न पहल गरिने उनले बताएका छन्।
महाकाली बहुप्राविधिक शिक्षालय लाई स्तरोन्नति गरी बीएस्सी नर्सिङ कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारिएको छ।
स्वास्थ्य पूर्वाधार विस्तार
प्रस्तावित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय लाई आधुनिक तथा अनुसन्धानमुखी केन्द्रका रूपमा विकास गरिने उल्लेख छ। महाकाली प्रादेशिक अस्पताल लाई विश्वविद्यालयको आंगिक क्याम्पस बनाउने तथा दोधाराचाँदनी नगर अस्पताललाई २५ शैयामा स्तरोन्नति गरी सर्पदंश उपचार केन्द्र स्थापना गर्ने योजना सार्वजनिक गरिएको छ।
कृषि, रोजगार र उद्यम
किसान परिचयपत्रमार्फत कृषि, पशुपालन र वनमा आधारित स्वदेशी उत्पादनको संरक्षण गरिने तथा अनियन्त्रित आयात नियमनमा पहल गरिने जनाइएको छ। युवा स्वरोजगार तथा उद्यमशीलता कोष स्थापना गरी कृषि, पर्यटन र आईटी क्षेत्रमा स्टार्टअप प्रवर्द्धन गरिने र ‘विदेश होइन, स्वदेशमै अवसर’ अभियान सञ्चालन गरिने प्रतिबद्धता छ।
पर्यटन प्रवर्द्धन
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्यापर्यटन विकासका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समन्वय विस्तार गरिने भट्टले बताएका छन्। धार्मिक तथा सांस्कृतिक स्थल प्रवर्द्धन, महाकाली नदीमा र्याफ्टिङ व्यवसायीकरण, होमस्टे विस्तार र राना–थारु संस्कृतिको संरक्षण गर्ने योजना पनि समेटिएको छ।
पूर्वाधार विकास
मझगाउँ विमानस्थल, महाकाली करिडोर, सुख्खा बन्दरगाह, महाकाली तेस्रो चरण सिँचाइ आयोजना, चारलेन सडक तथा गड्डाचौकी–दैजी सडक खण्डलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरिएको छ। दोधाराचाँदनी र भीमदत्त नगर क्षेत्रमा चक्रपथ निर्माण सम्पन्न गर्ने योजना पनि सार्वजनिक गरिएको छ।
भूमि तथा सामाजिक सुरक्षा
ऐलानी जग्गामा बसोबास गरिरहेका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण–पुर्जा उपलब्ध गराउने प्रक्रिया तीव्र पारिने जनाइएको छ। आवासविहीन र सीमान्तकृत समुदायका लागि सुरक्षित आवास कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख छ।
युवा तथा खेलकुद
युवालाई खेलकुदमार्फत सशक्त बनाउन खेलमैदान स्तरोन्नति, क्लब परिचालन तथा अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षामा आबद्ध गरिने योजना अघि सारिएको छ। डुबान समस्या समाधानका लागि ढल निकास, तटबन्ध र हरियाली गाउँ–नगर कार्यक्रम लागू गरिने प्रतिबद्धता पनि जनाइएको छ।
उम्मेदवार भट्टले सुशासन, विकास र जनमुखी नेतृत्वमार्फत कञ्चनपुर–३ लाई समृद्ध क्षेत्रका रूपमा विकास गर्ने दाबी गरेका छन्।

