‘क्वालिटी वर्क, टाइमली वर्क विगतदेखि भन्दै आएको छु, अहिले पनि त्यही भनिरहेको छु। राष्ट्र विकासका लागि भौतिक पूर्वाधारको काम गुणस्तरीय र समयमै सकिनुपर्छ ’
महेन्द्रनगर : गृहमन्त्री रमेश लेखकले गुणस्तरीय काम नहुनु र समयमै निर्माण कार्य सम्पन्न नहुनु नै निर्माण क्षेत्रको प्रमुख समस्या रहेको बताएका छन्।
निर्माण व्यवसायी संघ कञ्चनपुरको १५ औं अधिवेशनको उद्घाटन कार्यक्रममा शुक्रबार महेन्द्रनगरमा बोल्दै मन्त्री लेखकले भने, ‘क्वालिटी वर्क, टाइमली वर्क विगतदेखि भन्दै आएको छु, अहिले पनि त्यही भनिरहेको छु। राष्ट्र विकासका लागि भौतिक पूर्वाधारको काम गुणस्तरीय र समयमै सकिनुपर्छ।’
उनका अनुसार समयमै निर्माण कार्य नसक्दा योजनाको लागत धेरै बढ्ने र राज्यको रकमको दुरुपयोग हुने अवस्था आउँछ। उनले एक दशकअघि आफू भौतिक पूर्वाधार मन्त्री हुँदा देखिएका समस्या अहिले पनि जस्ताको त्यस्तै रहेको बताए।
मन्त्री लेखकले कतिपय योजनाको लागत मूल्य दुई–तीन सय प्रतिशतसम्म वृद्धि भएको उल्लेख गर्दै यसलाई रोक्न निर्माण क्षमताको अभिवृद्धि अपरिहार्य रहेको बताए। ‘पूर्वाधार निर्माण सुधारका लागि राष्ट्रिय निर्माण क्षमतामा वृद्धि गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘यसका लागि सरकारी निकायदेखि निजी क्षेत्रका व्यवसायी सबैले आफ्नो क्षमता बढाउनुपर्छ।’
वर्तमान कांग्रेस–एमाले गठबन्धन सरकार कानुनी र नीतिगत सुधारका लागि गठन भएको भन्दै उनले निर्माण क्षेत्रमा देखिएका कानुनी समस्या समाधान गर्न सरकार तयार रहेको बताए। खरिद ऐन संशोधनबारे छलफल भइरहेको पनि जानकारी दिए।
यस्तै, मन्त्री लेखकले निर्माण व्यवसायीलाई समयमै भुक्तानी गर्ने विषयमा सरकार गम्भीर रहेको जनाए। ‘गत आर्थिक वर्षमा मात्रै वर्षौंदेखि रोकिएको ३५ अर्ब भुक्तानी गर्यौं,’ उनले भने, ‘बाँकी रकम पनि यो वर्ष भुक्तानी हुनेछ। व्यवसायीलाई निर्धक्क भएर काम गर्ने वातावरण तयार गर्नु सरकारको दायित्व हो।’
