डा. दीपकको चुनावी एजेन्डा

कति वाचा पूरा, कति अधुरा ? नयाँ योजना के ?

महेन्द्रनगर । सुदूरपश्चिमकै बौद्धिक र नीति–केन्द्रित राजनीतिक व्यक्तित्वका रूपमा चिनिन्छन् डा. दीपकप्रकाश भट्ट। यतिखेर कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पनि हुन् उनी।

फाल्गुन २१ गतेको आसन्न निर्वाचनमा कुनै पनि दलले जनतासामु लैजाने स्पष्ट प्रतिबद्धता तयार गरेका छैनन्। जेन्जी आन्दोलनपछि हुन गइरहेको निर्वाचनले आन्दोलनको मर्मअनुरूप एजेन्डा तयार गर्ने अपेक्षा गरिए पनि अहिलेसम्म कसैले स्पष्ट खाका बनाइसकेका छैनन्। विकासका नारा मात्रै लिएर दलहरू चुनावी प्रचार–प्रसारमा उत्रिएका छन्।

उम्मेदवारी दर्तापछि डा. भट्ट चुनावी प्रचार–प्रसारमा निकै व्यस्त छन्। उनी दोहोरिने उम्मेदवार भएकाले आफ्ना पुराना, तर कतिपय अधुरा प्रतिबद्धतासँगै जनताबीच कसरी जाँदैछन् ? नयाँ योजना र के अभियान छन् ? भनी अभियान दैनिक ले डा. भट्टलाई सोधेको थियो।


पुराना प्रतिबद्धता, जुन अझै आधा–अधुरा छन्

उनका अनुसार, अघिल्लो कार्यकालका उल्लेखनीय उपलब्धिमध्ये २०५६ सालदेखि बन्द रहेको मझगाउँ विमानस्थल पुनः सञ्चालनको प्रक्रिया अघि बढाइनु प्रमुख हो। दशकौँसम्म उपेक्षित अवस्थामा रहेको विमानस्थललाई पुनर्जीवित गर्ने पहलले कञ्चनपुरको हवाई पहुँच विस्तारमा नयाँ सम्भावना खोलेको छ। तर, त्यसलाई अन्तिम रूप दिन अझै बाँकी छ।

महाकाली प्रादेशिक अस्पतालमा बृहत् सेवा सुधार भएको छ। दोधाराचाँदनी स्वास्थ्य केन्द्रको सुधार अवस्था जनताले अवगत नै गरिसकेका छन्। अझै अत्याधुनिक सेवा विस्तारका लागि थप कार्ययोजना बनाउँदै छु, उनी भन्छन्।

ब्रह्मदेव–कौवानी खण्डअन्तर्गत महाकाली करिडोर निर्माणको सुरुआत र दोधाराचाँदनी क्षेत्रमा सुख्खा बन्दरगाह निर्माण प्रक्रिया अगाडि बढिसकेका छन्। यी दीर्घकालीन योजनालाई शीघ्र सम्पन्न गर्ने गरी कार्ययोजना अघि बढाउने उनको प्रतिबद्धता छ।

डा. भट्ट कञ्चनपुरको आर्थिक रूपान्तरणलाई सुख्खा बन्दरगाह र महाकाली करिडोरसँग जोडेर हेर्छन्। उनको दीर्घकालीन दृष्टिकोणअनुसार सुख्खा बन्दरगाहलाई पूर्णता दिई कञ्चनपुरलाई भारत र चीन जोड्ने त्रिदेशीय व्यापारिक नाकाका रूपमा विकास गर्न सकिन्छ। यसबाट रोजगारी सिर्जना, लगानी प्रवर्द्धन र स्थानीय अर्थतन्त्र मजबुत हुने उनको विश्वास छ।

भौतिक पूर्वाधारतर्फ गड्डाचौकीदेखि चिसापानीसम्मको ४ लेन सडक स्तरोन्नति पनि उनको अर्को महत्वपूर्ण एजेन्डा हो। संघीय सरकारको विशेष प्राथमिकतामा राखेर सडक निर्माण सम्पन्न गराउने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।


नयाँ प्रतिबद्धता

शिक्षा र स्वास्थ्य क्षेत्रलाई डा. भट्टले सुदूरपश्चिमको समृद्धिको आधार मानेका छन्। सुदूरपश्चिम विश्वविद्यालयलाई नमूना विश्वविद्यालयका रूपमा विकास गर्ने उनको योजना छ।

विश्वविद्यालयसँग जोडिएर जडिबुटीको सम्भावनालाई उपयोग गर्दै हर्बल साइन्स, खेलकुद क्षेत्रका लागि स्पोर्ट्स साइन्स, जलवायु परिवर्तन, कृत्रिम बुद्धिमत्ता तथा साइबर सेक्युरिटीसम्बन्धी अध्ययन कार्यक्रम सुरु गर्ने सोच उनले अघि सारेका छन्।

स्वास्थ्य क्षेत्रमा महाकाली अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गरी गेटामा स्थापना हुने दशरथ चन्द चिकित्सा विश्वविद्यालयसँग जोड्ने योजना पनि उनको छ।


को हुन् डा. भट्ट ?

डा. भट्ट शिक्षित युवा, विद्वान र अनुभवी राजनीतिज्ञ मात्र होइनन्, उनी शिक्षक, लेखक र अनुवादकसमेत हुन्। भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा विद्यावारिधि (पीएचडी) उपाधि हासिल गरेका उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सुरक्षाविद्को पहिचान बनाइसकेका छन्।

शान्ति, लोकतन्त्र, राष्ट्रिय सुरक्षा नीति र अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा उनका लेख, अनुसन्धानपत्र र विचार सार्वजनिक बहसमा निरन्तर देखिँदै आएका छन्।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा कञ्चनपुर–३ बाट निर्वाचित डा. भट्टले आफ्नो कार्यकालमा थुप्रै दीर्घकालीन महत्वका काम अघि बढाएको दाबी गर्छन्। विकासका ठूला आयोजना सुरु भए पनि बीचमै अलपत्र परेका योजनालाई पुनः गति दिनु नै उनको मुख्य लक्ष्य छ। यही अनुभव र निरन्तरताको आधारमा उनी पुनः जनताको विश्वास जित्ने प्रयासमा छन्।


राजनीतिक यात्रा

राजनीतिक यात्रामा पनि डा. भट्टको अनुभव फराकिलो छ। २०४५ सालदेखि भारत प्रवासमा रहँदा अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियनमार्फत संगठन निर्माणमा सक्रिय रहेका उनी महासचिव हुँदै केन्द्रीय अध्यक्षसम्मको जिम्मेवारी सम्हालिसकेका छन्।

२०४६ सालको जनआन्दोलनदेखि शान्ति प्रक्रियासम्म उनले निर्वाह गरेको भूमिका उल्लेखनीय मानिन्छ। विशेषगरी माओवादी सेनाका लडाकुहरूको समायोजन तथा पुनःस्थापनासम्बन्धी विशेष समितिमा खेलेको भूमिका उनको राजनीतिक यात्राको महत्वपूर्ण पाटो हो।


विगतको अनुभव, बौद्धिक पृष्ठभूमि र दीर्घकालीन विकास योजनासहित चुनावी मैदानमा उत्रिएका डा. दीपकप्रकाश भट्ट कञ्चनपुर–३ बाट पुनः जनताको मन जित्ने दौडमा देखिएका छन्।

More From Author

कञ्चनपुर–३ बाट सांसदमा दोहोरिने दौडमा डा. दीपकप्रकाश भट्ट

कञ्चनपुर–२: बचन सिंह विकासको दौडमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *