कञ्चनपुर–३ बाट सांसदमा दोहोरिने दौडमा डा. दीपकप्रकाश भट्ट

महेन्द्रनगर । सुदूरपश्चिमकै बौद्धिक र नीति–केन्द्रित राजनीतिक व्यक्तित्वका रूपमा चिनिने डा. डीपकप्रकाश भट्ट कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका रूपमा दोहोरिने दौडमा छन् ।

सुरक्षा, अन्तर्राष्ट्रिय सम्बन्ध र शान्ति प्रक्रियामा लामो अनुभव बोकेका उनी यसपटक पनि विगतका कामको निरन्तरता र दीर्घकालीन विकासको एजेन्डासहित चुनावी मैदानमा उत्रिएका छन् ।

डा. भट्ट शिक्षित युवा, विद्वान र अनुभवी राजनीतिज्ञ मात्र होइनन्, उनी शिक्षक, लेखक र अनुवादक समेत हुन् । भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा विद्यावारिधि (पीएचडी) उपाधि हासिल गरेका उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सुरक्षाविद्को पहिचान बनाइसकेका छन् । शान्ति, लोकतन्त्र, राष्ट्रिय सुरक्षा नीति र अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा उनका लेख, अनुसन्धानपत्र र विचार सार्वजनिक बहसमा निरन्तर देखिँदै आएका छन् ।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा कञ्चनपुर–३ बाट निर्वाचित डा. भट्टले आफ्नो कार्यकालमा थुप्रै दीर्घकालीन महत्वका काम अघि बढाएको दाबी गर्छन् । विकासका ठूला आयोजना सुरु भए पनि बीचमै अलपत्र परेका योजनालाई पुन: गति दिनु नै उनको मुख्य लक्ष्य छ । यही अनुभव र निरन्तरताको आधारमा उनी पुन: जनताको विश्वास जित्ने प्रयासमा छन् ।

डा. भट्ट कञ्चनपुरको आर्थिक रूपान्तरण सुख्खा बन्दरगाह र महाकाली करिडोरसँग जोडेर हेर्छन् । उनको दीर्घकालीन दृष्टिकोणअनुसार सुख्खा बन्दरगाहलाई पूर्णता दिई कञ्चनपुरलाई भारत र चीन जोड्ने त्रिदेशीय व्यापारिक नाकाका रूपमा विकास गर्न सकिन्छ । यसबाट रोजगारी सिर्जना, लगानी प्रवर्द्धन र स्थानीय अर्थतन्त्र मजबुत हुने उनको विश्वास छ । भारतमुखी आप्रवासनलाई नीतिगत रूपमा व्यवस्थित गर्नुपर्ने आवश्यकता उनले बारम्बार उठाउँदै आएका छन् ।

भौतिक पूर्वाधारतर्फ गड्डाचौकीदेखि चिसापानीसम्मको ४ लेन सडक स्तरोन्नति उनको अर्को महत्वपूर्ण एजेन्डा हो । संघीय सरकारको विशेष प्राथमिकतामा राखेर सडक निर्माण सम्पन्न गराउने प्रतिबद्धता उनले व्यक्त गरेका छन् । यसका साथै संघ, प्रदेश र स्थानीय सरकारको सहलगानीमा निर्माणाधीन मझगाउँ विमानस्थल शीघ्र सञ्चालनमा ल्याउने उनको योजना छ ।

उनको अघिल्लो कार्यकालका उल्लेखनीय उपलब्धिमध्ये २०५६ सालदेखि बन्द रहेको मझगाउँ विमानस्थल पुन: सञ्चालनको प्रक्रिया अघि बढाइनु हो । दशकौंसम्म उपेक्षित अवस्थामा रहेको विमानस्थललाई पुनर्जीवित गर्ने पहलले कञ्चनपुरको हवाई पहुँच विस्तारमा नयाँ सम्भावना खोलिएको छ । महाकाली प्रादेशिक अस्पतालको सेवा सुधार, ब्रह्मदेव–कौवानी खण्डअन्तर्गत महाकाली करिडोर निर्माणको सुरुआत र दोधाराचाँदनी क्षेत्रमा सुख्खा बन्दरगाह निर्माण प्रक्रिया अगाडि बढाउनु उनका प्राथमिकतामा छन् ।

शिक्षा र स्वास्थ्य क्षेत्रलाई डा. भट्टले सुदूरपश्चिमको समृद्धिको आधार मानेका छन् । सुदूरपश्चिम विश्वविद्यालयलाई नमूना विश्वविद्यालयका रूपमा विकास गर्ने, जडिबुटीको सम्भावनालाई उपयोग गर्दै हर्बल साइन्स, खेलकुद क्षेत्रका लागि स्पोर्ट्स साइन्स, साथै जलवायु परिवर्तन, कृत्रिम बुद्धिमत्ता र साइबर सेक्युरिटीसम्बन्धी अध्ययन कार्यक्रम सुरु गराउने उनको सोच छ । स्वास्थ्य क्षेत्रमा महाकाली अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गरी गेटामा स्थापना हुने दशरथ चन्द चिकित्सा विश्वविद्यालयसँग जोड्ने योजना उनले अघि सारेका छन् ।

राजनीतिक यात्रामा पनि डा. भट्टको अनुभव फराकिलो छ । २०४५ सालदेखि भारत प्रवासमा रहँदा अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियनमार्फत संगठन निर्माणमा सक्रिय रहेका उनी महासचिव हुँदै केन्द्रीय अध्यक्षसम्मको जिम्मेवारी सम्हालिसकेका छन् । २०४६ सालको जनआन्दोलनदेखि शान्ति प्रक्रियासम्म उनले निर्वाह गरेको भूमिका उल्लेखनीय मानिन्छ । विशेषगरी माओवादी सेनाका लडाकुहरूको समायोजन तथा पुन:स्थापनासम्बन्धी विशेष समितिमा खेलेको भूमिका उनको राजनीतिक यात्राको महत्वपूर्ण पाटो हो ।

विगतको अनुभव, बौद्धिक पृष्ठभूमि र विकासका दीर्घकालीन योजनासहित डा. दीपकप्रकाश भट्ट कञ्चनपुर–३ बाट पुन: सांसद बन्ने दौड देखिएका छन् ।

More From Author

अनवरत सेवारत वडाध्यक्ष भुन्टु !

डा. दीपकको चुनावी एजेन्डा

Leave a Reply

Your email address will not be published. Required fields are marked *