निर्माण व्यवसायी संघ कञ्चनपुरको १५औं अधिवेशनलाई लक्षित गर्दै वर्तमान अध्यक्ष निरञ्जन प्रसाद भट्टले आफ्नो प्यानल घोषणा गरेका छन्। शनिबार पत्रकार सम्मेलन गरी पूर्व अध्यक्षहरुलाई साक्षी राख्दै पदाधिकारीको पूर्ण प्यानल सार्वजनिक गरिएको हो।
भट्टको प्यानलमा वरिष्ठ उपाध्यक्षमा देबबहादुर चन्द, उपाध्यक्षमा दीपक भट्ट, महासचिवमा योगेन्द्र ठकुराठी, सचिवमा बृजकिशोर चन्द, कोषाध्यक्षमा तेजबहादुर चन्द र सह–कोषाध्यक्षमा हेम महरा रहेका छन्। संघको अधिवेशन भदौ २० र २१ गते हुने तय भएको छ। कार्यतालिका अनुसार २० गते उम्मेदवारी दर्ता र २१ गते निर्वाचन हुनेछ।
प्यानल घोषणा कार्यक्रममा अध्यक्ष पदका उम्मेदवार भट्टले आफ्नो नेतृत्वमा विगतमा भुक्तानी नदिने कार्यालयमा तालाबन्दी, बोलपत्र सम्बन्धी नीति–नियम संशोधन लगायत महत्वपूर्ण पहल भएको उल्लेख गर्दै व्यवसायीहरूको आग्रह र समर्थनकै आधारमा फेरि उम्मेदवारी दिएका बताएका छन्। उनले यसपटक अस्वस्थ प्रतिस्पर्धा अन्त्य गर्दै युवा टोलीमार्फत स्वस्थ वातावरण निर्माण आफ्नो प्राथमिकता हुने बताए।
भट्टको प्यानललाई समर्थन जनाउन संघका पूर्व अध्यक्षहरु गजेन्द्र बहादुर चन्द, लोकबहादुर ठकुराठी, प्रेम प्रकाश भट्ट, भुवनराज भट्ट लगायतका व्यक्तिहरु उपस्थित थिए। कञ्चनपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष गणेश दत्त जोशी समेत कार्यक्रममा सहभागी थिए।
पूर्व अध्यक्ष प्रेम प्रकाश भट्टले जिल्लामा दररेट बढाउनेदेखि व्यवसायी भुक्तानीसम्मका विषयमा भट्ट नेतृत्वले गरेको पहल उल्लेख गर्दै फेरि पनि निरञ्जन भट्टको आवश्यकता महसुस गरिएको बताए। अर्का पूर्व अध्यक्ष भुवनराज भट्टले अहिलेको नेतृत्वले सकारात्मक काम गरिरहेको भन्दै निरन्तरता आवश्यक रहेको धारणा राखे।
संघका संस्थापक गजेन्द्र विक्रम थापाले व्यक्तिगतभन्दा व्यवसायिक हितलाई प्राथमिकता दिन सुझाव दिँदै भट्टको प्यानल त्यसका लागि सक्षम रहेको बताए। पूर्व अध्यक्ष लोकबहादुर ठकुराठीले विधानले दुई कार्यकाल नेतृत्व गर्न सक्ने व्यवस्था रहेको भन्दै भट्टको टोली व्यवसायीका हकहितका लागि लड्न सक्ने प्रमाणित भएको धारणा व्यक्त गरे।
त्यस्तै, पूर्व केन्द्रीय सदस्य प्रेमसिंह भण्डारीले अस्वस्थ प्रतिस्पर्धा, सरकारले बजेटविनै ठेक्का खोल्ने प्रवृत्ति र समयमै काम सम्पन्न नहुँदा भएको मूल्यवृद्धिले व्यवसायीहरु मारमा परेको बताए।
अधिवेशन नजिकिँदै गर्दा कञ्चनपुरका निर्माण व्यवसायीहरूबीच नेतृत्व चयनका लागि चहलपहल तीव्र भएको छ भने निरञ्जन भट्टको प्यानलले पूर्व अध्यक्ष र व्यवसायी समुदायको समर्थनसहित निर्वाचनमा प्रवेश गरेको छ।