सामाजिक सुरक्षा मात्रै होइन, उत्तरदायित्व पनि बहन गर्ने नेतृत्व
महेन्द्रनगर, स्थानीय तहका जनप्रतिनिधि अनियमितता र बेथितिमा लिप्त भएको गुनासो भइरहँदा कञ्चनपुरमा भने एक वडाध्यक्षले सुखद सन्देश प्रवाह गरिरहेका छन्। भीमदत्त नगरपालिका–१ का वडाध्यक्ष आशिफ कुँवर ‘भुन्टु’ आफ्नो तलब–भत्ताको रकम वडाका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई वितरण गर्दै उदाहरणीय बनेका छन्।
आर्थिक लोभ नगरी निरन्तर सेवा गरिरहेका वडाध्यक्ष कुँवरले तलब–भत्ता बापतको रकम प्रत्येक वर्ष दशैंका बेला वृद्धवृद्धा र अशक्तलाई वितरण गर्दै वडावासीको मन जित्दै आएका छन्। २०७४ सालमा पहिलोपटक वडाध्यक्ष निर्वाचित हुँदा देखिनै उनले यो परम्परा सुरू गरेका हुन्। हाल उनी दोस्रो कार्यकालमा निरन्तर सेवारत छन्।

कुँवरले ७० वर्ष पूरा गरेका वृद्धवृद्धा र अपाङ्गता भएका नागरिकलाई लक्षित गर्दै सहयोग गर्दै आएका छन्। सरकारले वितरण गर्ने सामाजिक सुरक्षा भत्तामा उनले थप टेका पुर्याउने काम गरेका हुन्।
उनको मासिक २२ हजार ४०० रुपैयाँ तलबबाट वार्षिक २ लाख ६८ हजार रुपैयाँ जम्मा हुन्छ। यही रकम उनले घटस्थापनाको अवसरमा १४२ जना वृद्धवृद्धालाई जनही १ हजार ५०० रुपैयाँका दरले वितरण गरेका छन्। साथै हरेक वर्ष १५–२० जना पूर्ण अपाङ्गता भएका व्यक्तिलाई समेत नगद सहयोग गर्दै आएका छन्। रकम अपुग भएमा उनले आफ्नै व्यक्तिगत आम्दानीबाट समेत खर्च गर्ने गरेका छन्।
पूर्ण अशक्त व्यक्तिलाई घरमै पुगेर सहयोग रकम हस्तान्तरण गर्ने उनको अभ्यासले वडावासी थप प्रभावित भएका छन्। यसपालि सहयोग रकम पाउँदा ९९ वर्षीय गम्भीर सिंह, ९६ वर्षीया अनुपा विष्ट र ७३ वर्षीय शिवनाथसहितका वृद्धवृद्धा खुशी देखिन्थे।

२०७४ सालमा पहिलोपटक वडाध्यक्ष निर्वाचित हुँदा कुँवरले राज्यबाट पाउने सेवासुविधा नलिने घोषणा गरेका थिए। उनले भने, “मैले पाउने सम्पूर्ण सेवासुविधा सामाजिक कार्य र विपन्न, असहाय नागरिकलाई सहयोगमा खर्च गर्दै आएको छु। यसपालि पनि दशैं रमाइलो होस् भनेर आमाबुबालाई सहयोग रकम वितरण गरेको हुँ।”
लगातार आठ वर्षदेखि आफूले पाएको सम्पूर्ण सुविधा ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई वितरण गर्दै आएको उनले बताए। औषधि–उपचार खर्चसमेत उनले व्यक्तिगत रूपमा व्यहोर्ने गरेका छन्। नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष कुँवर लोकप्रिय मत ल्याएर नेतृत्वमा पुगेका हुन्।