इन्टरनेसनल स्कूलका शिक्षक कलौनीलाई राष्ट्रिय शिक्षा पुरस्कार
महेन्द्रनगर । इन्टरनेसनल पब्लिक स्कूल महेन्द्रनगरका शिक्षक नगेन्द्र कलौनी राष्ट्रिय शिक्षा पुरस्कारबाट पुरस्कृत हुने भएका छन् ।
शिक्षा मन्त्रालयले प्रदान गर्ने राष्ट्रिय शिक्षा पुरस्कारका लागि इन्टरनेसनलका गणित विषयका शिक्षक ४५ वर्षीय कलौनी छनोट भएका छन् ।

२०५९ सालदेखि लगातार २२ वर्ष स्कूलमा पढाउँदै आएका उनले गणितमा स्नातकोत्तर गरेका छन् । उनी अनुशासित, प्रेरक, विद्यार्थीका प्रिय, कुशल व्यवस्थापक, नीति तथा योजना तर्जुमाकार रहेका स्कूलले जनाएको छ ।

२०५३ सालमा स्थापना भएको स्कूलले हालसम्म थुप्रै पुरस्कार प्राप्त गरिसकेको छ । स्कूल स्थापनाकालदेखि हालसम्म ७ पटक नगद १ लाखसहित सुदूरपश्चिममै सर्वाेत्कृष्ट घोषणा भइसकेको छ । स्कूलका विद्यार्थीले एसएलसी र एसईईमा उत्कृष्टता प्रदर्शन गर्दै आएका छन् ।