ब्रेकिङ्गराजनीति

युवासंघको अधिवेशनमा कुटपिट गर्ने ७ जना पार्टीको सदस्य समेत नरहने गरी निष्कासित

महेन्द्रनगर । नेकपा एमाले कञ्चनपुरले राष्ट्रिय युवा संघ कञ्चनपुरको जिल्ला अधिवेशनमा कुटपिट गर्ने ७ जनालाई पार्टी सदस्य नरहने गरी निष्कासन गरेको छ ।

मंगलवार प्रेस वक्तव्य जारी गर्दै जिल्ला कमिटी कार्यबाहक अध्यक्ष लक्ष्मी बुढाले सोमवार बसेको जिल्ला कमिटीको सचिवालय बैठकले निष्कासनको निर्णय गरेको जानकारी दिइन् ।

बैठकले जिल्ला कमिटी सदस्य कमल रोकाया, रमेश भट्ट, राधाकृष्ण जोशी र केशव चन्द तथा प्रबिन बोगटी, रोहित कुँवर र नविन चन्दलाई पार्टी सदस्य नरहने गरी निष्कासित गरेको छ । बैठकले कुटपिटलाई सांघातिक र बर्बर आक्रमणको संज्ञा दिँदै आक्रमणमा संलग्नलाई कानूनबमोजिम कारवाही गर्न प्रशासनलाई आग्रह गरेको छ ।

अधिवेशनको बन्दसत्र चलिरहेका बेला निर्वाचन समितिको निर्णयअनुसार निर्वाचन कार्यतालिका टाँस गर्ने क्रममा भीमदत्त नगरपालिका–१८ का वडाध्यक्ष समेत रहेका पार्टी जिल्ला कमिटी सदस्य रविन्द्रप्रसाद देवकोटामाथि कुटपिट भएको थियो । घाइते देवकोटाको काठमाडौंमा उपचार भइरहेको छ ।

अधिवेशनका लागि केन्द्रबाट आएका पार्टी पोलिटब्युरो सदस्य तथा युवा फाँट इन्चार्ज महेश बस्नेत, युवासंघका केन्द्रीय उपाध्यक्ष महाराजा गुरुङ लगायतले सम्झाइबुझाई गर्दा समेत नमानी कुटपिट गरेर अराजकता, अनुशासनहिनता र गुण्डागर्दी गरेको भन्दै अध्यक्षमण्डलले संलग्नमाथि कारवाहीका लागि जिल्ला कमिटीलाई सिफारिस गरेको थियो । कुटपिटपछि निर्वाचित कमिटी घोषणा गरेर बधाई तथा शुभकामना दिँदै इन्चार्ज बस्नेतले गुण्डागर्दी गर्नेलाई कारवाही हुने प्रतिबद्धता जनाएका थिए । अधिवेशनबाट दिनेश विष्टको अध्यक्षतामा जिल्ला कमिटी निर्वाचित भएको थियो ।

सचिवालय बैठकले कुटपिटमा संलग्न देखिएका र समानान्तर गतिविधिमा संलग्न अन्य पार्टी सदस्यलाई आवश्यक कारवाही गर्न कार्यबाहक अध्यक्ष लक्ष्मी बुढालाई अधिकार प्रत्यायोजन गर्ने निर्णय पनि गरेको वक्तव्यमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्