ब्रेकिङ्गसमाचार

कञ्चनपुरमा सीआईबीको गुपचुप ‘अपरेसन’, ३ जना पक्राउ, ‘कल बाईपास’ के हो ?

महेन्द्रनगर । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) टोलीले कञ्चनपुर आएर सञ्चालन गरेको गुपचुप अपरेसन सफल भएको छ ।

सीआईबीले अवैध अन्तर्राष्ट्रिय कल बाइपासमा संलग्नमध्ये ३ आरोपीलाई कञ्चनपुरका विभिन्न स्थानबाट पक्राउ गरेको छ ।

प्रहरीले भारतको दिल्ली घर भएका ४१ वर्षीय गुल्जार अहमदलाई भीमदत्त नगरपालिकाको गल्ली नम्बर ५ बाट, दोधाराचाँदनी नगरपालिका–७ का ४० वर्षीय प्रविण खड्का र भीमदत्त नगरपालिका–१० जिमुवाका ४७ वर्षीय दिपक बोहरालाई पक्राउ गरेको छ ।

बजारको ५ नम्बर गल्लीमा गैरकानूनी रूपमा शंकास्पद गतिविधि भइरहेको भन्ने सूचनाको आधारमा सीआईबी, नेपाल टेलिकम र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट संयुक्त रूपमा खटिएको टोलीले अपरेसन चलाएको थियो ।

विगत ४ महिनादेखि कल बाइपासको अवैध काम भइरहेको अवस्थामा कल बाइपासमा प्रयोग भएका ल्यापटप २ थान, मोनिटर, लाइन केबल २ थान, मोबाइल सेट ३ थान, युपिएस र ब्याट्री लगातयका विभिन्न उपकरणसहित आरोपीलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

पक्राउ परेका आरोपीहरूमाथि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट थप अनुसन्धान एवं आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाइएको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक संजयसिंह थापाले प्रेस विज्ञप्तिमार्फत जनाएका छन् ।

के हो कल बाइपास ?

कल बाइपास भनेको सिधै आउनुपर्ने कललाई बीचमा छिरेर अर्कै बाटो प्रयोग गरी पठाउनु हो । सामान्यतया अन्तर्राष्ट्रिय कल नेपाल आउनका लागि तीन पक्ष संलग्न हुन्छन् – पहिलो कल पठाउने निकाय, दोस्रो क्यारियर पठाएको कललाई बोक्ने माध्यम र तेस्रो दूरसञ्चार सेवा प्रदायक (नेपाल टेलिकम, एनसेल, स्मार्ट आदि) ।

यसरी आउने कललाई जोड्ने काम गेटवे (एउटा नेटवर्कदेखि अर्काे नेटवर्क जोड्ने काम) ले गर्ने गर्छ । नेपाल टेलिकम, एनसेल, स्मार्ट लगायतले अन्तर्राष्ट्रिय एसएमएस र कलहरू नेपाल भित्र्याउने कामका लागि भनेर नेपालमा दूरसञ्चार प्राधिकरणबाट लाइसेन्स लिएका छन् ।

कल पठाउने संस्थाबाट नेपालका दूरसञ्चार सेवा प्रदायकको सर्भरमा टर्मिनेट भएर कल तथा एसएमएस आउने प्रक्रियालाई वैधानिक मानिन्छ । तर बीचमा बसेर अमुक व्यक्ति, समूहले बाहिरबाट आएको कललाई आफ्नो गेटवेको रुट प्रयोग गराई कल डाइभर्ट/बाइपास गराई अन्तर्राष्ट्रिय कललाई लोकल कलका रूपमा प्रयोगकर्ताको सिस्टमा/नम्बरमा पुर्‍याइरहेका हुन्छन् र देशलाई चुनौती दिई घाटा पुर्‍याएका हुन्छन् । साथै व्यक्तिगत फाइदा लिइरहेका हुन्छन् ।

लोकल नम्बरबाट आएको कल सस्तो हुन्छ भने बाहिरबाट आएको कल महंगो हुने गर्छ । सेवा प्रदायकले पनि त्यसैअनुसारको शुल्क असुल्ने गर्छन् । जस्तै– अमेरिकाबाट सोझै एनसेलको सर्भर हुँदै एसएमएस आयो भने कम्पनीले प्रतिएसएमएस ७ रुपैयाँ आम्दानी गर्छ । तर बीचमा भीओआईपी (भोइस ओभर इन्टरनेट प्रोटोकल) वा जीओआईपी (जीएसएम ओभर इन्टरनेट प्रोटोकल) अथवा दूरसञ्चार प्रदायकका सीमकार्ड प्रयोग गरेर अवैध बाटोमार्फत बाइपास गरी लोकल नम्बरबाट कल पठाउँदा १ रुपैयाँ मात्रै आम्दानी हुन्छ । यसरी बीचमा बसेर बाइपास गर्ने समूह, व्यक्तिले अवैध रूपमा सोझै ६ रुपैयाँ आम्दानी गर्ने गर्छन् । जसले गर्दा सरकारी संस्थानलाई घाटा भइरहेको हुन्छ ।

प्रतिक्रिया दिनुहोस्