नयाँ कार्यक्षेत्रमा खटिए एमाले केन्द्रीय सदस्य धामी, पार्टी पंक्तिमा ऊर्जा थप्ने संकल्प
महेन्द्रनगर । नेकपा एमालेका केन्द्रीय सदस्य नरबहादुर धामी नयाँ कार्यक्षेत्रमा खटिएर लालझाडी गाउँपालिका पुगेका छन् ।
लालझाडी गाउँपालिकाको इन्चार्ज बनाएर पार्टी केन्द्रीय कमिटीले खटाएपछि उनी बिहीवार गाउँपालिकाको वडा नम्बर ५ मा पुगेका हुन् ।
लालझाडी गाउँपालिका पुगेर आफूले नयाँ परिभाषित जिम्मेवारीको शुरूआत गरेको इन्चार्ज धामीले बताए । धामीलाई पार्टीले लालझाडी गाउँपालिका र पुनर्वास नगरपालिकाको इन्चार्जको जिम्मेवारी दिएको छ ।
लालझाडीको ५ नम्बर वडाबाट नयाँ जिम्मेवारी शुरू गरेका इन्चार्ज धामीले पार्टीको भावी योजना र रणनीतिबारे वडा कमिटी अध्यक्ष अमर धामी र सचिव जनक जोशी लगायत स्थानीय नेता, कार्यकर्तासँग छलफल गरेका छन् ।
वडाका जनसरोकारका समसामयिक विषयवस्तुबारे इन्चार्ज धामीले वडाध्यक्ष पहल थापासँग पनि छलफल गरेका छन् ।
‘पार्टीको भावी कार्ययोजनाबारे छलफल भयो र पार्टीमा ऊर्जा थप्ने संकल्प गरिएको छ,’ उनले भने, ‘जनताको आशा र भरोसाको पार्टी एमाले नै हो भन्ने थप स्थापित गर्न कमिटी र पार्टीपंक्ति परिचालन हुने विषयमा छलफल भयो, अब चाँडै वडा भेला र बैठक हुनेछन् ।’
पार्टीको मिसन ग्रासरुट अभियानका सिकाइका आधारमा केन्द्रीय कमिटीले चालू वर्षलाई अधिवेशनको वर्ष घोषणा गर्दै केन्द्रीय सदस्यहरूलाई नयाँ जिम्मेवारीमा खटाएको छ ।