संस्थागत विद्यालयले नगरपालिकाको निर्णय नमान्ने, लामो बिदा नगर्ने निर्णय
महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाभित्रका संस्थागत विद्यालयले नगरपालिकाको निर्णय नमान्ने भएका छन् ।
संस्थागत विद्यालयको छाता संगठन प्याब्सन र एनप्याब्सनको बिहीबार बसेको संयुक्त बैठकले नगरपालिकाको पत्रमा उल्लेख भएको लामो बिदा नगर्ने निर्णय गरेको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौलीले बिहीबार नगरपालिका भित्रका सबै सामुदायिक र संस्थागत विद्यालयलाई पत्राचार गर्दै आइतबारदेखि साउन ३ गतेसम्म बर्खे बिदा गर्न निर्देशन दिएका थिए ।
बिदा सम्बन्धी नगरपालिकाको निर्देशन पालना नगरेको देखिएमा अभिलेखमा राखिने र नियमानुसार कारवाही गरिने पत्रमा उल्लेख थियो ।
लगत्तै प्याब्सन र एनप्याब्सनको बैठक बसी असार १५ गतेसम्म विद्यालय बन्द गर्ने र त्यसपछि मौसममा सुधार आए पठनपाठन सञ्चालन गर्ने निर्णय भएको एक सहभागीले जानकारी दिए । लामो बिदा गर्दा पठनपाठन प्रभावित हुने संस्थागत विद्यालयका सञ्चालकहरूको गुनासो छ ।
नगरपालिकाका प्रमुख (मेयर) पदम बोगटीले संस्थागत विद्यालयसँग समन्वय नगरी एकलौटी निर्णय गर्ने गरेको र फोन गर्दा पनि फोन नउठाउने गरेको विद्यालय सञ्चालकको गुनासो छ ।
विद्यालय सञ्चालकले बिदा नदिएमा नगरपालिका र विद्यालयबीच द्वन्द्व हुने देखिएको छ ।