पत्रकार पक्राउ घटना : दोषीमाथि ३ दिनभित्र कारवाही गर्ने सीडीओ अर्यालको प्रतिबद्धता
महेन्द्रनगर । कञ्चनपुरको सुकासालमा समाचार संकलन गरिरहेका बेला पत्रकारद्वय राजेन्द्र नाथ र ऐश्वर्या कुँवरलाई पक्राउ गरिएको घटनामा दोषी देखिएकालाई ३ दिनभित्र कारवाही हुने भएको छ ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोपाल अर्यालले नेपाल पत्रकार महासंघको टोलीसँग छलफल गर्दै दोषीमाथि कारवाही गर्ने प्रतिबद्धता जनाएका छन् ।
सीडीओ अर्यालसँग पत्रकार महासंघका केन्द्रीय सचिव हेमकर्ण विक, केन्द्रीय सदस्य भरत शाह, पूर्व केन्द्रीय सदस्य प्रकाशविक्रम शाह, प्रदेश अध्यक्ष योगेश रावल, जिल्ला अध्यक्ष माधव धामी लगायतका प्रतिनिधिको टोलीले छलफल गरेका थिए । छलफलमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी कमल थापा पनि सहभागी थिए ।
कार्यस्थलमा पत्रकारहरू प्रहरीबाटै असुरक्षित भएको गुनासो गर्दै पत्रकारको टोलीले सीडीओसँग सुरक्षाको माग गरेका थिए ।
बुधवार बसेको पत्रकार महासंघ कञ्चनपुर शाखाको आकस्मिक बैठकले कञ्चनपुरका एसपी कमल थापालाई सरुवा गरी फिर्ता लैजान प्रहरी महानिरीक्षक (आईजीपी) लाई पत्राचार गर्ने निर्णय गरिसकेको छ ।