प्रहरीको विपद् व्यवस्थापन सुदूरपश्चिम गुल्ममा पतञ्जलीको ७ दिने योग शिविर सञ्चालन

महेन्द्रनगर । मानसिक तथा शारीरिक रूपमा स्वस्थ भई समाजमा उर्जाशील व्यक्तित्व निर्माणका लागि योग, अध्यात्म र आयुर्वेदप्रति विश्व जगत आकर्षित भइरहेका बेला कञ्चनपुरको महेन्द्रनगरस्थित नेपाल प्रहरी विपद् व्यवस्थापन सुदूरपश्चिम गूल्ममा ७ दिने योग शिविर मंगलवारबाट प्रारम्भ भएको छ ।

पतञ्जली योग समिति नेपालका केन्द्रीय सदस्य तथा मुख्य योग प्रशिक्षक लवराज भट्ट तथा गुल्म प्रमुख नरपति भट्टले संयुक्त रूपमा दीप प्रज्वलन गरी योग शिविरको उद्घाटन गरे ।

मंगलवारको योग शिविरको प्रारम्भमा नगर योग समितिका अध्यक्ष पवन पनेरु, पतञ्जली योग समिति महिला अध्यक्ष कमला पाण्डेय, योग प्रशिक्षक केशवराज पन्त, सुरेन्द्रबहादुर चन्द लगायतका गुल्मका ४० जनाभन्दा बढी प्रहरीको सक्रिय सहभागिता थियो ।

योगका माध्यमबाट जुनसुकै रोगको निवारण र रोग समेत लाग्न नदिनका लागि शरीरभित्रको प्राणलाई भित्र्याउने र सही प्रयोगबाट रगत शुद्धीकरण गरी स्वस्थ्य, तनावमुक्त जीवनयापन गर्न सहज हुने कुरामा मुख्य प्रशिक्षक भट्टले जोड दिए ।

उनले आहार–व्यवहार लगायत प्रणायाम, सुक्ष्म व्यायाम लगायतका प्रक्रियाहरूबाट सहभागीलाई योग गर्न/गराउन प्रहरी गणलाई सक्षम बनाउने उद्देश्य पतञ्जली कञ्चनपुरले लिएको बताए ।

जेठ २ गतेदेखि ८ गतेसम्म गुल्मको ग्राउन्डमा सञ्चालन हुने योग शिविरमा पतञ्जली योग समिति कञ्चनपुरका पदाधिकारी, प्रशिक्षक लगायत विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको नगर अध्यक्ष पवन पनेरुले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्