जीतहार जेसुकै भए पनि अनवरत जनताको सेवामा समर्पित हुनेछौं : एमाले कञ्चनपुर
महेन्द्रनगर । नेकपा एमाले कञ्चनपुरले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा जीतहार जेसुकै भए पनि अनवरत जनताको सेवामा समर्पित हुने प्रतिबद्धता जनाएको छ ।
पार्टी पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज निरुदेवी पाल र जिल्ला अध्यक्ष सुरेन्द्र विष्टले प्रेस विज्ञप्ति जारी गर्दै पार्टीका उम्मेदवार, नेता, कार्यकर्ता र पार्टीपंक्ति जनताको सेवामा समर्पित हुने प्रतिबद्धता जनाएका हुन् ।
‘देशव्यापी रूपमा हाम्रो पार्टी नेकपा एमालेविरुद्ध ५ दलीय गठबन्धनले सत्ता र राज्यशक्तिको चरम दुरुपयोगका बाबजुद पनि नेकपा एमालेप्रति जनताले देखाएको अपार मायाप्रति हार्दिक धन्यवाद दिन चाहन्छौं,’ विज्ञप्तिमा उल्लेख छ, ‘यस्तो प्रतिकूल परिस्थितिमा समेत निकटतम प्रतिस्पर्धी हुनुभएका हाम्रो पार्टीका सबै उम्मेदवार कमरेडहरूको उज्ज्वल राजनीतिक भविष्यको शुभकामना व्यक्त गर्दछौं ।’
निर्वाचनमा भएको पराजयको आन्तरिक र बाह्य कारणको गम्भीर समीक्षा गरी आगामी दिनमा रचनात्मक भूमिकासहित पार्टीपंक्तिलाई सशक्त रूपमा परिचालन गरिने विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा उल्लेख छ, ‘आगामी दिनमा पनि जनतासँग मिलेर राष्ट्रियता, लोकतन्त्र, विकास, समृद्धि र जनजीविकाका सवाललाई निरन्तर उठाइनेछ ।’