यी हुन् कञ्चनपुरबाट निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरू
महेन्द्रनगर । गत आइतवार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्ष तर्फको मतगणना अन्तिम चरणमा पुगेको छ ।
कञ्चनपुरको २ र ३ नम्बर क्षेत्रको प्रतिनिधि सभामा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवारहरू क्रमशः एनपी साउँद र रमेश लेखक निर्वाचित भएका छन् । दुवैले नेकपा एमालेका उम्मेदवारहरू क्रमशः नरबहादुर धामी र निरुदेवी पाललाई पराजित गरेका छन् ।
प्रदेश सभातर्फ ३(१) मा नेकपा एकीकृत समाजवादीका प्रकाश रावल विजयी भएका छन् । रावलले सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार टेकेन्द्रप्रसाद भट्ट र राप्रपाका उम्मेदवार धर्मराज जोशीलाई पराजित गरेका छन् । प्रदेशसभा क्षेत्र ३(२) मा नेपाली कांग्रेसका बेलबहादुर राना विजयी भएका छन् । रानासँग नेकपा एमालेका उम्मेदवार सुरेन्द्र विष्ट पराजित भएका छन् ।
प्रदेशसभा क्षेत्र २(१) मा नेकपा माओवादी केन्द्रका ओमविक्रम भाट ‘सरल’ विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार वचनबहादुर सिंहलाई पराजित गरेका छन् । २(२) मा नेपाली कांग्रेसका बहादुरसिंह थापा निर्वाीचत भएका छन् । थापाले नेकपा एमालेका कृपाराम रानालाई पराजित गरेका छन् ।
प्रदेशसभा १(१) मा नेकपा एमालेका वीरबहादुर थापा ‘पातल’ विजयी भएका छन् । थापाले नेपाली कांग्रेसका उम्मेदवार बन्धु रानालाई पराजित गरेका छन् ।
प्रदेशसभा १(२) मा नेपाली कांग्रेसका दिवानसिंह विष्ट निर्वाचित भएका छन् । विष्टले नेकपा एमालेका उम्मेदवार पल्लबराज भट्टलाई पराजित गरेका छन् ।
प्रतिनिधिसभाको १ नम्बर निर्वाचन क्षेत्रको मतगणना जारी छ । मतगणनामा नेकपा एमालेका उम्मेदवार तारा लामा तामाङले फराकिलो अग्रता कायम गरेका छन् भने सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार बिना मगरले पछ्याइरहेकी छन् ।