सत्तारुढ गठबन्धनले २ मन्त्रीलाई किन गर्‍यो ‘तिरस्कार’ ?

महेन्द्रनगर । सत्ता गठबन्धनमा सिट बाँडफाँट गर्दा कुरा नमिलेका क्षेत्र हुन् कञ्चनपुरको प्रदेशसभा क्षेत्र २(२) र ३(१) । यहाँ गठबन्धनभित्रकै दलहरूका २/२ उम्मेदवार छन् ।

प्रदेशसभा क्षेत्र २(२) मा नेपाली कांग्रेसका बहादुरसिंह थापा र नेकपा एकीकृत समाजवादीका लालबहादुर खड्का उम्मेदवार छन् भने ३(१) मा नेकपा माओवादी केन्द्रका टेकेन्द्रप्रसाद भट्ट र नेकपा एकीकृत समाजवादीका प्रकाश रावल उम्मेदवार छन् ।

सिट बाँडफाँट गर्दा कञ्चनपुरमा यी दुवै सिट एकीकृत समाजवादीले पाउनुपर्ने दाबी गरेको थियो तर गठबन्धनभित्र समाजवादीलाई कञ्चनपुरमा १ सिट पनि दिइएन । उम्मेदवारी दर्ता भइसकेपछि पनि सहमति गराउने प्रयास भएको थियो तर कुरा मिल्न सकेन ।

गठबन्धनभित्रकै दलका २/२ उम्मेदवार कायम रहेपछि शीर्ष नेतृत्व तहमा ३ वटै पार्टी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका अध्यक्षहरूले हस्ताक्षर गर्दै यी दुवै क्षेत्रमा मित्रवत् प्रतिस्पर्धा गर्ने उल्लेख गरे अर्थात् गठबन्धनका नेता, कार्यकर्ताले दुवै उम्मेदवारमध्ये जसलाई पनि रोज्न पाउने । तर चुनाव प्रचारप्रसारका क्रममा नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका एनपी साउँद र रमेश लेखकले एकीकृत समाजवादीका उम्मेदवारलाई तिरस्कार गरिरहेको देखिएको छ ।

गठबन्धनका प्रतिनिधिसभा उम्मेदवार रहेका साउँदले बहादुरसिंह थापा र लेखकले टेकेन्द्रप्रसाद भट्टलाई आफूसँगै राखेर भोट मागिरहेका छन् । एकीकृत समाजवादीका उम्मेदवार खड्का र रावल एक्लाएक्लै प्रचारमा हिँडेका छन् । मित्रवत् प्रतिस्पर्धा भनिए पनि उम्मेदवारद्वय खड्का र रावलले गठबन्धनको साथ पाउन सकेका छैनन् । खड्का सुदूरपश्चिम प्रदेश सरकारका पूर्व सामाजिक विकास मन्त्री र रावल आर्थिक मामिलामन्त्री हुन् ।

गठबन्धनको शीर्ष नेतृत्वले एकीकृत समाजवादीका उम्मेदवारलाई समेत मान्यता दिएको भए पनि साउँद र लेखक एकापट्टि मात्रै ढल्किएका छन् भने खड्का र रावललाई बेवास्ता गरेका छन् ।

प्रतिनिधिसभा उम्मेदवार रमेश लेखक, नेपाली कांग्रेसका केन्द्रीय सदस्य यज्ञराज जोशी लगायत नेताहरूले माओवादी उम्मेदवार भट्टका लागि मात्रै भोट मागिरहेका छन् । कांग्रेस कञ्चनपुरका सचिव भीम भट्टको भिडियो सन्देशमा भनिएको छ, ‘कांग्रेसका नेता, कार्यकर्ता साथीहरूलाई अनुरोध गर्दछु – अहिले ३(क) मा सम्पूर्ण मतदाताज्यू, पार्टीका साथीहरूलाई गोलाकारभित्रको हँसिया हथौडामा आफ्नो अमूल्य मत दिएर टेकेन्द्र भट्टज्यूलाई विजयी गराइदिन हार्दिक अनुरोध गर्दछु ।’

यस्तै कांग्रेसको ३(१) नम्बर क्षेत्रका प्रचारप्रसार समिति संयोजक पदमराज अवस्थी, निर्वाचन क्षेत्र नम्बर ३ का सचिव उमेश जोशी, कांग्रेसका भीमदत्त नगर कार्यसमिति सभापति अच्युतराज कलौनीको भिडियो सन्देश बनाएर भट्टका लागि मात्रै भोट मागिएको छ । यसरी कांग्रेसको पार्टीपंक्ति एकातिर ढल्किँदा एकीकृत समाजवादीका उम्मेदवार तिरस्कारमा परेका छन् ।

एकीकृत समाजवादीका उम्मेदवारद्वय खड्का र रावलले चुनाव प्रचारका क्रममा प्रदेशसभा सदस्यमा आफूलाई भोट माग्ने गरेका छन् भने प्रतिनिधि सभाको मतका सन्दर्भमा मौन बस्ने गरेका छन् । यसरी यी क्षेत्रमा एकीकृत समाजवादी गठबन्धनमा नभए जस्तै देखिएको छ । एकीकृत समाजवादीले न गठबन्धनका अरु उम्मेदवारका लागि भोट मागिरहेको छ, न त एकीकृत समाजवादीका लागि गठबन्धनका अरु दलले भोट मागिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्