‘निर्धक्क’ निरु दिदी !

महेन्द्रनगर । कञ्चनपुरको ३ नम्बर निर्वाचन क्षेत्रमा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार निरुदेवी पालले मतदातालाई सम्बोधन गर्दै भनिन्, ‘म जत्तिको महिला को छ सदन हल्लाउन सक्ने ? छ भने देखाइदिनुस् । होइन भने यसपालि हामी दिदीबहिनी मिलेर तपाईंलाई अगाडि बढाउँछौं भन्नुहोस् । यो निरु पालको मात्रै हार हुने होइन, सबै ५१% को हार हो । त्यही भएर मलाई जिताउनुहोस् ।’

समानुपातिकबाट प्रतिनिधिसभा सदस्य भएर प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिको सभापति हुँदा संसदमा काम गरेको अनुभव उनले सुनाइन् । चुनावी प्रचारका क्रममा उनले आफूले गरेका काम र अनुभवलाई निर्धक्कसँग मतदातामाझ राख्ने गरेकी छन् । उनलाई निकटहरूले `निरु दिदी´ भनेर सम्बोधन गर्छन् ।

‘महिलाका समस्या महिलाले बुझ्छन् । म त भात पकाएर आएको मान्छे हो नि ! भैंसी पालेर आएको मान्छे हो, धान रोपेर आएको मान्छे हो नि ! तपाईंका हरेक समस्या मेरा समस्या हुन्,’ मतदातासँग निकटता कायम गर्दै उनले भनिन्, ‘महिला तथा सामाजिक समितिको सभापति हुँदा महिला, बालबालिका र ज्येष्ठ नागरिकका लागि थुप्रै विधेयक बनाएका छौं । छोराछोरीले आमाबुवालाई वृद्धाश्रम राख्न नपाइने कडा कानून बनाएका छौं ।’

भारतले अतिक्रमण गरेको नेपाली भूभागलाई नक्सामा कायम गर्न भूमिका खेलेको कुरालाई उनले गौरवसाथ मतदातामाझ राखिन् । उनले हात देखाउँदै भनिन्, ‘चुच्चे नक्सा जारी गरिरहँदा यिनै हातले सिक्नेचर गरेका हुन् ।’

प्रहरी प्रशासनले किसानलाई दुःख दिने र तस्करसँग सेटिङ गर्ने गरेको प्रवृत्तिविरुद्ध आफू संसदमा बोलेको स्मरण गर्दै उनले भनिन्, ‘असारमा धान रोप्नु छ भने हामीले भदौसम्म खाद पाउँदैनौं । यहाँ पाउँदै–पाउँदैन, पारिबाट ल्याउन जाउ भन्दा लठ्ठी बजार्छन् । तस्करलाई बजारे त हामी पनि खुशी हुन्थ्यौं नि ! किसानमाथि हुने अन्यायविरुद्ध हामीले संसदमा आवाज उठाएका छौं ।’

आफू सांसद निर्वाचित भएपछि सडक कालोपत्रे, पुल–पुलेसा निर्माण लगायत देखिने काम भएको उनले बताइन् । उनले बोलिरहँदा मतदाताले गडगड ताली बजाउने गरिरहन्थे । ‘कालोपत्रे कति भएको छ, तपाईंले देख्नुभएकै छ,’ उनले भने ।

कोरोना महामारीको बेला आफूले काम गरेको र महाकाली अस्पतालको सेवामा सुधार भएको उनले बताइन् । ‘कोरोनाकालमा अक्सिजन नपाएर बिरामी छट्टपटिरहेको बेला तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई भनेर अक्सिजनको जोहो गरेको हुँ । हामी जनताका सेवक थियौं, दुःख परेका बेला हेरेका हौं । तत्कालै ४ करोड पैसा छुट्याएर अक्सिजन प्लान्ट जोड्न खोजैं तर त्यो छुट्टै बजेटबाट बन्यो । पछि डायलासिस मशिन जडान गर्‍यौं । उपकरण जडान हुँदा धेरै बिरामीलाई सहज भएको छ, सुविधा पुगेको छ ।’

विगत लामो समयसम्म सांसद बनेका र मन्त्री बनेकाहरूप्रति पनि उम्मेदवार पाल आक्रामक देखिइन् । ‘विगतका जनप्रतिनिधिले त्यो अस्पताल देखेकै हुन् क्या रे ! म त त्यही अस्पतालमा जन्मिएको मान्छे । पछि राम्रो भएन,’ उनले भनिन्, ‘मझगाउँको विमानस्थल तपाईंहरूले देख्नुभएकै छ । पहिला–पहिला विमान चल्थ्यो । विकासवादी नेता आएपछि विमान चल्न रोकियो । म र डा. दीपक सांसद भएपछि विमानस्थल पुनर्निर्माण प्रक्रिया अगाडि बढेको छ, फेरि विकासवादीको सरकार आएपछि निर्माण कार्य रोकिएको छ ।’

प्रतिस्पर्धी पार्टीभित्र असन्तुष्टि र आफूले गरेको कामलाई देखेर उम्मेदवार पाल चुनाव जित्नेमा ढुक्क देखिन्छिन् । नेपाली कांग्रेसभित्र सधैं एकै उम्मेदवार भइराख्ने र नातागोतालाई मात्रै अवसर दिने प्रवृत्तिविरुद्ध नेताहरू दिपक सिंह, शारदा चन्द, पिताम्बर जोशी लगायतले स्वतन्त्र उम्मेदवारी दिएका छन् । कांग्रेसबाट पूर्व मन्त्री रमेश लेखक प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् ।

प्रतिक्रिया दिनुहोस्