सुरेन्द्रको ‘अपराजित यात्रा’ ! बेलबहादुरको दोस्रो इनिङ

महेन्द्रनगर । कञ्चनपुरको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर ३(२) मा नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

निर्वाचनमा नेकपा एमाले कञ्चनपुरका अध्यक्ष सुरेन्द्र विष्ट र सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि बेलबहादुर राना चुनावी मैदानमा होमिएका छन् ।

राना गत प्रदेशसभा निर्वाचन २०७४ सालमा समेत उम्मेदवार भई नेकपा माओवादी केन्द्रका उम्मेदवार मानबहादुर सुनारसँग पराजित भएका थिए । उम्मेदवार विष्ट स्थानीय तह निर्वाचन २०७४ सालमा भीमदत्त नगरपालिकाको मेयर भई हाल प्रदेशसभा सदस्य बन्ने दौडमा छन् ।

उम्मेदवार विष्ट २०४७ सालदेखि सक्रिय राजनीतिमा लागेपछि कुनै पनि चुनावमा पराजित भएका छैनन् । २०५३ सालमा उनी सिद्धनाथ बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति निर्वाचित भएका थिए ।

२०६६ सालमा नेकपा एमाले कञ्चनपुरको जिल्ला कमिटी उपसचिव तथा प्रचार विभाग प्रमुख बनेका विष्ट २०६९ सालमा नेकपा एमाले कञ्चनपुरको जिल्ला कमिटी सचिव तथा संगठन विभाग प्रमुख बनेका थिए ।

२०७४ सालमा उनी भीमदत्त नगरपालिकाको नगर प्रमुख (मेयर) निर्वाचित भएका थिए । २०७८ पुसमा भएको पार्टीको कञ्चनपुर जिल्ला अधिवेशनबाट विष्ट जिल्ला अध्यक्ष पदमा निर्वाचित भएका छन् ।

कांग्रेसको प्रभाव क्षेत्र मानिएको भीमदत्त नगरपालिकामा मेयर निर्वाचित भइसकेका विष्टले आफूले मेयर हुँदा गरेका काम र विकास–निर्माण कार्यलाई देखाएर प्रचारप्रसार गरिरहेका छन् । विष्टले आफ्नो कार्यकालमा भीमदत्त नगरपालिका उत्कृष्ट भएको बताउँदै बाँकी रहेका काम पूरा गर्ने र दोधाराचाँदनीलाई विकासको अनुभूति गराउने प्रतिबद्धता जाहेर गरिरहेका छन् ।

कांग्रेस उम्मेदवार राना गठबन्धनको सहारामा चुनावी मैदानमा होमिएका छन् । रानालाई नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको समर्थन रहेको छ ।

राना २०४९ सालमा दोधारा गाविस–४ को वडाध्यक्ष जितेर जिल्ला विकास समिति सदस्य (क्षेत्रपाल) निर्वाचित भएका थिए । २०५४ सालको स्थानीय निर्वाचनमा दोधारा गाविस अध्यक्षमा निर्वाचित भएका थिए । उनी पटक–पटक भानु बहुमुखी क्याम्पसको अध्यक्ष रहेका छन् ।

रानाले दोधाराचाँदनी क्षेत्रको विकासका लागि आफूले काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्