‘आफनी भाषामी’ मत माग्दै एमाले नेत्री निरु पाल
महेन्द्रनगर । आसन्न प्रतिनिधिसभा सदस्य पदमा कञ्चनपुरको ३ नम्बर निर्वाचन क्षेत्रबाट उम्मेदवार रहेकी नेकपा एमालेकी पोलिटब्युरो सदस्य निरुदेवी पाल आफ्नै स्थानीय डोटेली भाषामा मतदातालाई सम्बोधन गर्दै मत मागिरहेकी छन् ।
चुनाव प्रचारका क्रममा आयोजित अधिकांश कोणसभामा सहभागीको राय लिएर उनले स्थानीय भाषामै बोल्ने गरेकी छन् । स्थानीय भाषाका माध्यमबाट उनले मतदातामा अपनत्वबोध गराउन खोजेकी छन् ।

भीमदत्त नगरपालिका–९ टुँडिखेलमा आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले भनिन्, ‘हमरी ब्वारी हो, हमरी चेली हो, एईकी कुरणी सुण्णौ भणिबरे इन्ज्यासम्म बसिरैछौ, धन्यवाद !’
आफूले समानुपातिक सांसद हुँदा पनि दुर्गम बस्ती खल्ला, मुसेट्टी र टुँडिखेलका लागि काम गरेको बताउँदै उनले भनिन्, ‘आज मुई ज्यादा कुरा त बोल्लइन्, गरबर धेकौंलो । बेली समानुपातिकमा हुन्ज्या गरिराख्छु, उसा बेला लै जनताप्रति उत्तरदायी होइबर गर्या । आब प्रत्यक्ष निर्वाचित होइबर गया पाछा झन् गर्लाे ।’
उनले अगाडि भनिन्, ‘७४ सालमा सुरेन्द्रजी उम्मेदवार हुन्ज्या, दिपकजी रे मुई उम्मेदवार हुन्ज्या मोटरसाइकलमा आया हुँ । उन्ज्या जिताइदिअ, बाटो बनौंला भण्या हुँ, आज बाटो बनिरैछ ।’
विगतमा दुर्गम बस्तीको दुःख स्मरण गर्दै उनले भनिन्, ‘पैली या का मान्सु इन्डियन सीम प्रयोग गरन्थ्या । फोन अद्दाई कि ब्रह्मदेव जानपड्ड्या, कि रुखा टुपामाई जान पड्ड्या । एैल याईलाई टावर आइरैछ ।’
विगतमा एमाले उम्मेदवारहरू जितेपछि महाकाली प्रादेशिक अस्पतालमा सुधार भएको बताउँदै उनले भनिन्, ‘हम जितिबरे जान्ज्या अस्पतालमा २ डाक्टर थ्या । आज ३२–३३ जना डाक्टर छन् ।’
गरीबका लागि एमाले पार्टीले नै काम गर्ने उनले बताइन् । उनले भनिन्, ‘कांग्रेस पार्टी सेठलाई हेद्द्या पार्टी हो, हमरी पार्टी त गरीबैलाई हेद्द्या पार्टी हो । एई गाउँमाई मजदुरी गरिबरे खान्यावाला छन्, या को नेतृत्व गद्द्या पार्टी एमाले हो । तबै त खल्ला मसेट्टी टुँडिखेलमा बाटो ल्यायौं ।’
आफूलाई विजयी गराए सडकहरू कालोपत्रे हुने उनले बताइन् । उनले भनिन्, ‘तमले मुलाई सेवक बनाइबरे पठायाले ५ वर्ष पाछा आउन्ज्या चिल्ला पिच बाटामी आउलो । आज कि भण्नार्यान्, हामले त्रिदेशीय नाकाका रूपमा बनौन्लार्यु भण्लार्यान् । केपी ओली महाकाली कोरिडोरमा पैसा हाल्ल्या, केपी ओलीका पालामी पैसा हालिबर बाटो सुरुआत हुन्या । आइल जो विचारा सांसदै थेन, उईले कस्या पैसा हाल्या हुनो हो ? इती त बुजिदिनपण्यो ब !’
नेकपा एमालेबाट ३ नम्बर क्षेत्रमा प्रतिनिधिसभातर्फ निरुदेवी पाल, प्रदेशसभा (१) तर्फ राप्रपाका धर्मराज जोशी र प्रदेशसभा (२) तर्फ एमाले कञ्चनपुरका अध्यक्ष सुरेन्द्र विष्ट उम्मेदवार छन् । विष्ट भीमदत्त नगरपालिकाको नगर प्रमुख (मेयर) हुँदा उत्तर क्षेत्रको दुर्गम बस्ती खल्ला, मुसेट्टी र टुँडिखेलमा विकासका पूर्वाधारमा सुधारका काम भएका थिए ।
तत्कालीन मेयर विष्ट, प्रतिनिधिसभा सदस्यद्वय निरुदेवी पाल र डा. दिपकप्रकाश भट्टको प्रयासमा दुर्गम बस्तीमा सडक, टेलिफोन, विद्युत् सेवा, खानेपानी, सिँचाइ लगायतका काम भएका छन् ।