महाकाली नदीको ईआईई समयमै नगर्दा भीमदत्त र दोधाराचाँदनीको आन्तरिक आयमा धक्का

महेन्द्रनगर । महाकाली नदीको नदीजन्य पदार्थ ढुंगा, गिट्टी, बालुवा संकलनका लागि समयमै ईआईई नगर्दा भीमदत्त र दोधाराचाँदनी नगरपालिकाको आन्तरिक आयमा धक्का पुगेको छ ।

पछिल्लोपटक गत आर्थिक २०७८/७९ मा भीमदत्त नगरपालिकाले महाकाली नदीबाट ६ करोड २० लाख रुपैयाँ आम्दानी गरेको थियो तर यसपालि ईआईई नहुँदा रोयल्टीको ठेक्का प्रक्रिया अगाडि बढ्न सकेको छैन ।

स्थानीय तह निर्वाचनबाट नेपाली कांग्रेस कञ्चनपुरका सभापति पदम बोगटी नगर प्रमुख निर्वाचित भएपछि नदीको ईआईई हुन सकेको छैन । नदीजन्य पदार्थ संकलन र उत्खनन्का लागि स्थानीय तहले वातावरणीय प्रभाव मूल्यांकन (ईआईई) वा प्रारम्भिक वातावरणीय मूल्यांकन (आईईई) गर्नुपर्ने अनिवार्य हुन्छ । निवर्तमान नगर प्रमुख सुरेन्द्र विष्टको कार्यकालमा भएको मूल्यांकनको अवधि गत भदौमा सकिएको थियो ।

नगरपालिकाले ईआईई र आईईई नगर्दा ठेक्का प्रक्रिया अगाडि बढाउन सकिएको छैन । ईआईई र आईईई नगर्दासम्म नदीजन्य पदार्थ संकलनका लागि नदी क्षेत्रमा प्रवेश गर्नु अवैध मानिन्छ तर नगरपालिकाको नयाँ नेतृत्वको ईआईई विना नै अवैध रूपमा उत्खनन्को काम अगाडि बढाएको छ ।

महाकाली नदीको ईआईई र आईईई नै नगरी नगरपालिकाका कर्मचारी नै रोयल्टी संकलन गरिरहेका छन् । नदीजन्य पदार्थ संकलनलाई वैज्ञानिक र व्यवस्थित गर्न मूल्यांकन नगरी हुँदैन । कुन क्षेत्रबाट कति घनमिटर नदीजन्य पदार्थ संकलन गर्ने र वातावरणमा प्रभाव पर्न नदिन के–के गर्ने भन्ने विषय ईआईई र आईईईमा समावेश भएको हुन्छ । ईआईई र आईईई विना नै नदीजन्य पदार्थ संकलन गर्दा बाढी, डुबान, कटान र भूक्षयको खतरा हुन्छ ।

महाकाली नदीबाट ढुंगा, गिट्टी, बालुवा संकलन भइरहेकोबारे मेयर बोगटी बेखबर छन् । टेलिफोनबाट उनीसामु जिज्ञासा राख्दा उनले भने, ‘मलाई जानकारी छैन । महेन्द्र खड्कालाई फोन गर्नुस्, उहाँ प्रवक्ता हो ।’

प्रवक्ता महेन्द्र खड्काले ईआईई गर्ने काम प्रक्रियामा रहेको र कर्मचारीमार्फत रोयल्टी उठाइरहेको जानकारी दिए । ‘ईआईई गर्न अलि ढिलो भयो,’ उनले भने । कर्मचारीमार्फत रोयल्टी उठाउने निर्णय नगर कार्यपालिका बैठकबाट भए/नभएकोबारे उनले स्पष्ट जानकारी दिन सकेनन् । कार्यपालिका बैठकमा उनी समेत सदस्य हुन्छन् । उनले भने, ‘मलाई थाहा भएन । म फिल्डमा छु ।’

नगरको नयाँ नेतृत्वले समयमै ईआईई र रोयल्टी संकलनको ठेक्का सम्झौता गर्न नसक्दा नगरपालिकाको आन्तरिक आयमा धक्का लाग्ने भएको छ । यसअघिको नेतृत्वले महाकाली नदीबाट प्राप्त हुने रोयल्टीबाट वार्षिक ४८ लाख रुपैयाँ दोधाराचाँदनी नगरपालिकालाई समेत दिने सम्झौता गरेका थिए । यतिबेला ठेक्काबाट रोयल्टी संकलन नहुँदा दोधाराचाँदनी नगरपालिकाले पाउने रोयल्टी समेत प्रभावित हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्