कञ्चनपुरका १ हजार ६७५ जना उम्मेदवार कारवाहीमा

महेन्द्रनगर । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत निर्वाचन खर्च विवरण नबुझाउने कञ्चनपुरका १ हजार ६७५ उम्मेदवार कारवाहीमा परेका छन् ।

गत स्थानीय तह निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिएका र समयमै निर्वाचन खर्च विवरण नबुझाउने १ हजार ६७५ उम्मेदवार कारवाहीमा परेका हुन् ।

निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र निर्वाचन खर्च विवरण बुझाउनुपर्ने हुन्छ ।

निर्वाचन खर्च विवरण नबुझाउने उम्मेदवारमा कञ्चनपुरका नगरपालिकाका प्रमुखका ४६ र उपप्रमुखका ३६ गरी ८२ उम्मेदवार कारवाहीमा परेका हुन् । उनीहरूलाई प्रतिव्यक्ति ४ लाख ५० हजार रुपैयाँका दरले जरिवाना तोकिएको छ ।

गाउँपालिका अध्यक्षका ४ तथा उपाध्यक्षका ४ गरी १६ उम्मेदवार कारवाहीमा परेका छन् । उनीहरूलाई प्रतिव्यक्ति ३ लाख ५० हजार रुपैयाँका दरले जरिवाना तोकिएको छ ।

नगरपालिकाका वडाध्यक्ष, दलित महिला सदस्य, महिला सदस्य र सदस्यका १ हजार ४१७ उम्मेदवार कारवाहीमा परेका छन् । उनीहरूलाई जनही २ लाख रुपैयाँका दरले जरीवाना तोकिएको छ ।

गाउँपालिकाका वडाध्यक्ष, दलित महिला सदस्य, महिला सदस्य र सदस्य पदका १६० उम्मेदवार कारवाहीमा परेका छन् । जसमा ४३ जना वडाध्यक्षका उम्मेदवार छन् । उनीहरूलाई जनही १ लाख ५० हजारका दरले जरिवाना तोकिएको निर्वाचन आयोगले जनाएको छ ।

कञ्चनपुरमा २ गाउँपालिका र ७ नगरपालिकासहित ९ स्थानीय तह छन् । गत स्थानीय तह निर्वाचनमा २ हजार १४१ उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए ।

तोकिएको जरिवाना नतिर्नेलाई आगामी ६ वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन नपाउने व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगले ३० दिनभित्र खर्च विवरण नबुझाएका उम्मेदवारहरूलाई निर्वाचन आयोग ऐन २०७३ को दफा २५, स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ६४ को उपदफा ४ र स्थानीय तह निर्वाचन नियमावली २०७३ को नियम ४० अनुसार कारवाही गरेको छ ।

प्रतिक्रिया दिनुहोस्