महेन्द्रनगर ।
हरि प्रसाद बोहरा कञ्चनपुर कांग्रेस पार्टीमा सशक्त नेतृत्वकर्ताका रूपमा परिचित नाम हुन्। लामो राजनीतिक यात्राका क्रममा यतिखेर उनी जीवनकै ठूलो परीक्षा मैदानमा उत्रिएका छन्। नेपाली कांग्रेस कञ्चनपुरका पूर्व सभापति बोहरा हाल कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–३ बाट संघीय सांसदका रूपमा स्थापित हुने प्रयासमा छन्।
पार्टी राजनीतिमा थुप्रै जिम्मेवारी सम्हालिसकेका र नेतृत्व गरिसकेका बोहरा पहिलो पटक प्रतिनिधिसभा सदस्यको निर्वाचनमा होमिएका हुन्। विगतमा मेयर र प्रदेशसभा सदस्यका दावेदार भए पनि अवसरबाट वञ्चित हुँदै आएका बोहराका लागि यो निर्वाचन विशेष महत्वको छ। कांग्रेसको गढ मानिने कञ्चनपुर–३ मा पनि वर्तमान राजनीतिक परिस्थितिले उनलाई सहज अवस्था भने दिएको छैन।
यस्तो छ राजनीतिक इतिहास
चार दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय बोहरा बेदकोट नगरपालिका–७ का निवासी हुन्। स्नातक अध्ययनका क्रममा विद्यार्थी राजनीतिबाट नेपाल विद्यार्थी संघको सदस्यता लिएर उनी राजनीतिमा प्रवेश गरेका हुन्।
२०३६ सालको जनमत संग्रह, २०४२ सालको सत्याग्रह, २०४६ सालको जनआन्दोलन हुँदै २०६२/०६३ को दोस्रो जनआन्दोलनसम्म बोहरा प्रत्यक्ष रूपमा संलग्न रहे।
२०४८ सालमा नेपाली कांग्रेसको क्रियाशील सदस्यता प्राप्त गरेका बोहरा लामो संघर्ष, त्याग र धैर्यका कारण कञ्चनपुर कांग्रेसको सभापतिसम्म पुगे।
संगठनमा निरन्तर उक्लँदै
१०औँ महाधिवेशनबाट जिल्ला सदस्य बनेका बोहरा क्रमशः सहसचिव, उपसभापति हुँदै १३औँ महाधिवेशनबाट जिल्ला सभापतिमा निर्वाचित भएका हुन्।
उनकै नेतृत्वमा २०७४ सालको स्थानीय तह निर्वाचनमा दोधारा–चाँदनी, भीमदत्त र शुक्लाफाँटा लगायतका पालिकामा कांग्रेसले महत्वपूर्ण जित हासिल गरेको थियो। २०७९ सालको स्थानीय, प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा पनि उनी सक्रिय रूपमा खटिएका थिए।
रोचक प्रसंग : पार्टी सभापतिका दावेदार, वडामै पराजित
२०७२ सालमा बोहरा कञ्चनपुर कांग्रेस पार्टी सभापतिका सशक्त उम्मेदवार थिए। पार्टी उपसभापति भएपछि नेतृत्वको दाबी गर्नु स्वाभाविक मानिन्थ्यो। सोहीअनुसार उनले संगठनभित्र प्रचार–प्रसार तीव्र पारेका थिए।
तर पार्टीभित्रको गुटबन्दीका कारण उनी आफ्नै वडा बेदकोट–७ को वडा अधिवेशनमै पराजित भए। तत्काल ३६ क्रियाशील सदस्य रहेको वडामा ३४ मत खसेको थियो। थानेश्वर भट्टले २४ र पुष्पराज भट्टले २१ मत ल्याएर क्षेत्रीय प्रतिनिधि बने भने बोहरा १७ मतका साथ पराजित भए।
जिल्ला सभापतिका प्रबल दावेदार वडामै रोकिएपछि यो घटना कञ्चनपुरको राजनीतिक वृत्तमा निकै चर्चाको विषय बन्यो।
हारेर पनि जितेका हरि
निराश तर हतास नभएका बोहराको राजनीतिक यात्रा त्यतिमै रोकिएन। नगर अधिवेशनबाट क्षेत्रीय प्रतिनिधि बन्ने वैधानिक व्यवस्था प्रयोग गर्दै उनी पुनः अघि बढे।
क्षेत्रीय अधिवेशन हुँदै महाधिवेशन प्रतिनिधि बनेपछि उनले नेतृत्व दाबी गर्ने स्थान सुरक्षित गरे। जिल्ला सभापतिका प्रतिस्पर्धी पदम बोगटीसँगको चुनावमा बोहराले बढी मत ल्याए पनि आवश्यक ५१ प्रतिशत मत नपुगेपछि पुनः निर्वाचनको अवस्था आयो।
अन्ततः बोगटीले समर्थन जनाउँदै पुनः निर्वाचनमा नजाने सहमति गरेपछि बोहरा कञ्चनपुर कांग्रेसको सभापतिमा निर्वाचित घोषित भए। यही घटनापछि कार्यकर्तामाझ एउटा नारा चर्चित बन्यो— ‘हारेर पनि जितेका हरि’।
बोहराका आगामी चुनौती
विशेष महाधिवेशनपछि कांग्रेसभित्रको आन्तरिक कलह सतहमा आएको छ। देशकै ठूलो पार्टीभित्रको यही अवस्था कञ्चनपुर–३ मा पनि देखिएको छ।
कञ्चनपुर–३ निर्वतमान गृहमन्त्री रमेश लेखकको प्रभाव क्षेत्र मानिन्छ। लेखकले २०५६ सालमा पहिलो पटक प्रतिनिधिसभा सदस्यको रूपमा निर्वाचित भएयता कञ्चनपुर–३ मा आफ्नो प्रभाव जमाउँदै आएका नेता हुन्।
वाम गठबन्धन भएको २०७४ सालको निर्वाचनमा लेखकले नेकपा एमालेका डा. दीपकप्रकाश भट्टसँग झिनो मतान्तरले पराजय भोगेका थिए। तर २०७९ सालको संघीय निर्वाचनमा उनले कञ्चनपुर–३ बाट ठूलो मतान्तरले पुनः विजय हासिल गरे। कञ्चनपुर–३ बाट दुई कार्यकाल जित्ने उनी एकमात्र नेता थिए।
जेन्जी आन्दोलनपछि तत्कालीन गृहमन्त्रीको हैसियतमा लेखक केही विवाद र आलोचनासँग जुधिरहेका थिए। जनताको मतबाट निर्वाचित भएकाले आफूविरुद्ध लागेका आरोपको जवाफ जनताकै अदालतमा दिन चाहन्थे, कांग्रेसका एक नेताले बताए।
निर्वाचनमा रमेश लेखकले टिकट पाउनेमा कार्यकर्ता ढुक्क थिए। तर पार्टीको विशेष महाधिवेशनपछि बनेको नयाँ केन्द्रीय नेतृत्वले उनलाई रोजेन। टिकट नपाएपछि लेखकका कार्यकर्ता र समर्थकहरू निराश छन्। यही कारण बोहराले लेखकको टिकट खोसेर आएको आरोपसमेत खेप्नुपरेको छ।
यद्यपि बोहराले आफू रमेश लेखककै उम्मेदवार भएको दाबी गर्दै आएका छन् र लेखक स्वयं पनि उनको प्रचारमा सक्रिय देखिएका छन्।
निर्णायक चुनाव र राजनीतिक भविष्य
जेन्जी आन्दोलनपछि देशभर पुराना दलहरूप्रति जनताको आकर्षण घट्दै गएको र नयाँ दलहरूप्रति क्रेज बढ्दै गएको अवस्था छ। नयाँ पार्टीहरूले परिवर्तनको मुद्दालाई मुख्य एजेन्डा बनाइरहेका छन्।
सोझो छवि भएका बोहराका लागि यो निर्वाचन भाग्य परीक्षण पनि हो। चुनाव नजिते यही क्षेत्रबाट उनको पहिलो र अन्तिम संसदीय चुनाव हुन सक्ने कांग्रेस नेताहरू बताउँछन्।
पार्टी संगठनभित्र सफल मानिएका बोहरा फागुन २१ गतेसम्म जनताको अदालतमा हाजिर भएका छन्।
कञ्चनपुर–३ का मतदाताले रमेश लेखकको अभाव बोहराबाट पूर्ति भएको ठान्लान् ?
हारेर पनि जितेका हरिले यसपटक चुनाव जित्लान् ?

