कञ्चनपुरमा पतंजलिलाई ६० लाख बराबरको जग्गा दान, ऐठपुरमा योग भवन बन्ने
महेन्द्रनगर । पतंजलि योग समिति कञ्चनपुरले प्राकृतिक चिकित्सा तथा योग केन्द्र निर्माण प्रक्रिया अगाडि बढाएको छ ।
भीमदत्त नगरपालिकास्थित ऐठपुरमा स्थानीय वीरबहादुर चन्द ‘विश्राम’ले १ कट्टा जग्गा दान गरेपछि त्यसमा योग भवन बनाइने भएको हो ।
चन्दले दान गरेको जग्गाको चलनचल्ती मूल्य ६० लाख रुपैयाँ छ । जग्गाको लालपूर्जा पतंजलिको नाममा बनिसकेको पतंजलि योग समिति नेपालका केन्द्रीय सदस्य लवराज भट्टले जानकारी दिए ।
दानबाट प्राप्त भएको जग्गामा प्राकृतिक चिकित्सा तथा योग केन्द्र बन्ने उनले बताए । ‘भवन निर्माणका लागि सरकारी निकायदेखि सर्वसाधारणसम्मलाई सहयोगको अपिल गरेका छौं,’ उनले भने, ‘भवन बनाउन नक्सा बनिसक्यो, अब काम अगाडि बढ्छ ।’
भवनबाट प्राकृतिक उपचार र योग सम्बन्धी सेवा सञ्चालन गरिनेछ । ‘पश्चिमी नाका गड्डाचौकी भएर हरिद्वारसहित विभिन्न तीर्थस्थल जाने भक्तजनका लागि धर्मशाला समेत बनाइनेछ,’ उनले भने ।