चुनावी मैदानमा होमिएका उत्तराखण्डका मुख्यमन्त्री धामीसामु उद्योग वाणिज्य संघले राख्यो यी माग
महेन्द्रनगर । चुनावी मैदानमा होमिएका भारतको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीसामु कञ्चनपुर उद्योग वाणिज्य संघले विभिन्न माग राखेको छ ।
खटिमा विधानसभा क्षेत्रबाट पराजित भएपछि मुख्यमन्त्री धामी चम्पावत विधानसभा क्षेत्रबाट उपचुनावीको दौडमा छन् । चुनावी अभियानका क्रममा धामीलाई भेटेर संघले विभिन्न माग राखेको छ ।
संघ अध्यक्ष जंगबहादुर मल्ल सहितको टोलीले भेटेर धामीसामु ४ बुँदे माग राखेको छ । वनवसा पुल २४ घण्टा खुलाउनुपर्ने, वनवसा र टनकपुरसम्म नेपाली सवारीसाधन निर्बाध चल्न दिनुपर्ने, कृषिजन्य वस्तु निर्यातका लागि प्लान्ट क्वारेन्टाइन बनाउनुपर्ने र नेपालतर्फ बनिरहेको सुक्खाबन्दरगाहको भारतीय क्षेत्रमा कनेक्टिभिटी रोडको कार्य अगाडि बढाउनुपर्ने माग गरिएको छ ।
मुख्यमन्त्री धामीले वाणिज्य संघका माग पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । धामीकै पहलमा वनवसा पुल ४ घण्टाबाट ७ घण्टा खुल्ने भएको थियो । नेपाल–भारत सम्बन्ध जहिल्यै मैत्रीपूर्ण रहने विश्वास धामीले व्यक्त गरेका छन् ।
खटिमा विधान सभाबाट चुनाव हारेका धामी मुख्यमन्त्री पद जोगाउन चम्पावतबाट उपचुनाव लड्दैछन् । उनलाई जिताउन चम्पावतका विधायक कैलाश गहतौडीले राजीनामा दिएर सिट खाली गरेका छन् ।