कञ्चनपुरका ७ पालिकामा पहिले हारेकाहरू अहिले जिते

महेन्दनगर । कञ्चनपुर जिल्लाकै पुरानो र ठूलो नगरपालिका भीमदत्त नगरपालिकामा नेपाली कांग्रेसका पदम बोकटीले यसपटक बाजी मारेका छन् ।

२०७४ सालमा सम्पन्न स्थानिय तह निर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुरेन्द्र बिष्टसँग झिनो मतान्तरले पराजित बोकटी २०७९ सालमा भारी मतका साथ विजयी भएका छन् ।

कञ्चनपुरका ९ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएपछि साख फर्काउने नगर प्रमुख (मेयर) बोकटी मात्रै होइनन्, ७ पालिकामा पहिले हारेका उम्मेदवार नै जितेका छन् । भीमदत्त, दोधाराचाँदनी, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर, लालझाडी, र पुनर्वास नगरपालिकामा विगतमा हारेकाले नै चुनाव जितेका छन् ।

दोधाराचाँदनी नगरपालिकाका किशोर लिम्बु २०७४ सालमा कांग्रेसका वीरबहादुर सुनारसँग पराजित भएका थिए । हालै सम्पन्न चुनावमा नेपाली कांग्रेसका गोपाल भट्टलाई हराउँदै लिम्बु नगर प्रमुखमा विजयी भएका छन् ।

बेदकोट नगरपालिकामा नेपाली कांग्रेसका भोजराज बोहराले जितेका छन् । अघिल्लो चुनावमा एमालेका अशोक चन्दसँग पराजित बोहरा यसपालि नगर प्रमुखमा जितेका छन् । उनी फराकिलो मतान्तरका साथ जितेका छन् ।

शुक्लाफाँटा नगरपालिकामा पनि नेकपा एमाले कञ्चनपुरका पूर्व उपसचिव चुनावी प्रतिस्पर्धामा होमिए । गत निर्वाचनमा नेपाली कांग्रेसका दिलबहादुर ऐरसँग पराजित भएका उनले यसपालि पार्टी फुटको अवस्थामा पनि नगर प्रमुखमा जितेका छन् ।

नेपाली कांग्रेसका पार्टी सचिव समेत रहेका हेमराज ओझा, पुनर्वास नगरपालिकाका तोयनाथ शर्मा नगर प्रमुख पदमा गत चुनावमा पराजित भएका थिए तर यसपालिको चुनावमा विजयी भएका छन् । लालझाडी गाउँपालिकामा नेकपा एमालेका निर्मल राना अघिल्लो चुनावमा अध्यक्ष पदमा पराजित भएका थिए तर यसपालि जितेका छन् ।

गत चुनावमा ओझालाई एमालेका कर्णबहादुर हमाल, शर्मालाई एमालेका जीवन थापा र रानालाई माओवादीका मदनसेन बडायकले पराजित गरेका थिए ।

बेलौरी नगरपलिकामा पछिल्लो विजेता माओवादी केन्द्रका पोतिलाल चौधरी नै दोहोरिएका छन् । बेलडाँडी गाउँपालिकाका कांग्रेसबाट नयाँ अनुहार हरिशचन्द्र रानाले जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्