नेपाली सवारीसाधन खटिमा र टनकपुरसम्म निर्बाध जान दिन उत्तराखण्डका विधायकसँग माग

महेन्द्रनगर । कञ्चनपुर उद्योग वाणिज्य संघले पश्चिमी सीमानाकालाई वनवसासँग जोड्ने शारदा ब्यारेज पुल २४ घण्टै खुला राख्न माग गरेको छ ।

महेन्द्रनगर भ्रमणमा आएका उत्तराखण्डको खटिमा विधान सभाका विधायक भुवन कापडीको छलफलमा संघले विभिन्न माग राखेको छ ।

विधायक कापडीसहित भारतीय कांग्रेस उत्तराखण्डका प्रदेश अध्यक्ष तथा विधायक पृतम सिंह लगायतको टोली महेन्द्रनगर आएको थियो ।

टोलीलाई स्वागत गर्दै संघका अध्यक्ष जंगबहादुर मल्लले खटिमा र टनकपुरसम्म नेपाली सवारीसाधन निर्बाध जान पाउने सुविधा मिलाउन पनि माग गरे । सीमामा भारतीय कष्टम, पुलिस, र एसएसबी पोस्टमा चेकजाँचको बहानामा सर्वसाधारण नेपालीमाथि हुने दुःख न्यूनीकरण गर्न पनि माग गरिएको छ ।

विधायक कापडीले संघका माग पूरा गराउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

संघका महासचिव विनोद जोशीले स्वागत कार्यक्रमको सञ्चालन गरेका थिए । विधायक टोलीलाई ढाकाटोपी लगाएर स्वागत सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्