महेन्द्रनगर । सामाजिक सञ्जाल बन्द गरेको विरोध र भ्रष्टाचारी नेताहरूमाथि कारवाहीको माग गर्दै देशव्यापी आन्दोलनमा उत्रिएका जेनजी पुस्ताले कञ्चनपुरमा समेत प्रदर्शन गरेका छन् ।
जिल्ला सदरमुकाम महेन्द्रनगरसहित पूर्वपश्चिम राजमार्गमा पर्ने विभिन्न बजारहरू, लालपुर, दैजी, झलारीमा स्थानीय युवाले प्रदर्शन गरेका छन् ।

महेन्द्रनगरस्थित सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमाले पार्टी कार्यालयमा प्रदर्शनकारीले आगजनी गरेका छन् । भीमदत्त नगरपालिका कार्यालयमा समेत आगजनी गरिएको छ ।
महेन्द्रनगरमा आन्दोलन उग्र बन्दै जाँदा सुरक्षाकर्मीले संयमता अपनाएका छन् । महेन्द्रनगर बजारका मुख्य चोकहरू भानुचोक, मदन चोक, दशरथचोकमा आन्दोलन भइरहेको छ ।

कञ्चनपुर उद्योग वाणिज्य संघले प्रदर्शनकारीमाथि गोली प्रहार गरेर मृत्यु भएको घटनाको शोकमा बजार बन्दको घोषणा गरेको छ । संस्थागत विद्यालयहरूले मंगलबार र बुधबार देशभर शोक बिदा दिएका छन् ।