कांग्रेसमा नयाँ ट्विस्ट : एनपीका खास मान्छे रमेश पक्षबाट जिल्ला सभापतिका उम्मेदवार !

महेन्द्रनगर : नेपाली कांग्रेस कञ्चनपुरको राजनीतिमा नयाँ ट्विस्ट आएको छ ।

कञ्चनपुरमा पूर्व मन्त्रीद्वय एनपी साउँद र रमेश लेखकबीच टकराव रहेकै बेला मंसिर १० गते हुने जिल्ला कार्यसमितिको निर्वाचनमा एनपीका खास मान्छे रमेश पक्षबाट सभापतिको उम्मेदवार बन्ने भएका छन् ।

अघिल्लो जिल्ला अधिवेशनमा एनपी पक्षबाट सभापति पदमा लडेर रमेश पक्षका उम्मेदवार हरिप्रसाद बोहरासँग पराजित भएका पदम बोगटीलाई रमेश पक्षले उम्मेदवार बनाउने भएको छ ।

रमेश पक्षबाट पुनः हरिप्रसाद बोहरा नै जिल्ला सभापतिको उम्मेदवार हुने तयारी रहेपनि महाधिवेशन प्रतिनिधिको निर्वाचनमा बोहरा हारेपछि रमेश पक्षले विकल्पका रूपमा बोगटीलाई अघि सारेको हो । एनपी चुनाव लड्दै आएको निर्वाचन क्षेत्र नम्बर २ मा भएको पार्टीको चुनावमा बोहरा महाधिवेशन प्रतिनिधिमा पराजित भएका थिए ।

रमेश पक्ष कञ्चनपुरको जिल्ला अधिवेशनमा बोगटीको नेतृत्वमा प्यानल नै बनाएर चुनावमा जाने भएको छ ।

बोगटी प्यानलबाट उपसभापतिमा दिवाकर पाण्डे र शंकर चन्द, सचिवमा सिद्धराज भट्ट र जनकसिंह धामी, सहसचिवमा कविराज भट्ट र पुष्कल चौधरी उम्मेदवार हुने भएका छन् । बुधबार साँझ महेन्द्रनगर बोगटी प्यानल घोषणा भएको छ ।

प्रतिक्रिया दिनुहोस्