कञ्चनपुर २ : एमालेका प्रतिनिधि छान्न सकसपछि चुनावको संकेत, प्रदेश नेतृत्व नै झलारीमा
महेन्द्रनगर : नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनका लागि कञ्चनपुरको २ नम्बर निर्वाचन क्षेत्रमा महाधिवेशन प्रतिनिधि छान्ने जिम्मा पार्टी नेतृत्वलाई दिइएको भए पनि छुटाउनै नहुने उम्मेदवार धेरै भएकाले नेतृत्व अलमलमा परेको छ ।
खुलातर्फ ४ र महिलातर्फ १ जना निर्वाचित हुनेमा सहमति हुन नसकेपछि प्रतिनिधिको टुंगो लगाउने जिम्मा उम्मेदवारहरूले नै पार्टी नेतृत्वलाई दिएका थिए ।
एमाले कञ्चनपुर जिल्ला इन्चार्ज निरु पाल, अध्यक्ष वीरबहादुर थापा ‘पातल’ र सचिव सुरेन्द्रबहादुर विष्टलाई प्रतिनिधि छान्ने जिम्मा दिइए पनि छुटाउनै नहुने अनुहार धेरै हुँदा जिल्ला नेतृत्व अनिर्णित बनेको छ ।
छुटाउनै नहुने उम्मेदवारलाई केन्द्रले प्रतिनिधि मनोनित गर्ने सुनिश्चितता नहुँदा जिल्ला नेतृत्व अनिर्णित बनेको एमाले स्रोतले जनाएको छ ।
खुलातर्फ ४ जना निर्वाचित हुनेमा प्रतिनिधिसभा सदस्य नरबहादुर धामी, वचनबहादुर सिंह, अशोककुमार चन्द, कृपाराम राना, टेकबहादुर हमाल, रणबहादुर महरा, जयराज पाण्डेय, रामसिंह धामी, विष्णुदत्त जोशी, मोहन रावल, हिक्मतबहादुर सिंह, लोकेन्द्र विष्ट, रमेश भट्टले उम्मेदवारी दिएका छन् । १ जना निर्वाचित हुने महिलातर्फ लक्ष्मी बुढा र पार्वती जोशीले उम्मेदवारी दिएका छन् ।
२ नम्बर क्षेत्रमा बेदकोट नगरपालिका, शुक्लाफाँटा नगरपालिका र कृष्णपुर नगरपालिका पर्छन् । बेदकोट नगरपालिकाबाट सांसद धामी, पूर्व सांसद कृपाराम राना, राष्ट्रिय युवा संघका पूर्व अध्यक्ष वचनबहादुर सिंह र बेदकोट नगरपालिकाका मेयर अशोक चन्द छुटाउनै नहुने उम्मेदवारभित्र पर्छन् । ४ जना छान्नुपर्नेमा बेदकोटमै छुटाउन नहुने ४ जना उम्मेदवार हुँदा सहमतिमा टुंगो लगाउन नेतृत्वलाई सकस भएको छ ।
शुक्लाफाँटा नगरपालिकामा समेत स्थानीय स्तरमा लोकप्रिय नेताहरू पार्टी उपसचिव रणबहादुर महरा, टेकबहादुर हमाल छुटाउनै नहुने उम्मेदवारभित्र पर्छन् । कृष्णपुरमा जयराज पाण्डे र लक्ष्मी बुढालाई प्रतिनिधि बनाउनैपर्ने चर्चा पार्टीभित्र छ । तर छुटाउनै नहुने उम्मेदवार धेरै र निर्वाचित हुने संख्या थोरै हुँदा पार्टी नेतृत्व समस्यामा परेको छ ।
जिल्ला पार्टी नेतृत्वलाई प्रदेश र केन्द्रबाट चर्काे दबाब समेत छ । आफू निकटलाई नछुटाउन नेतृत्वबाट दबाब आइरहेको स्रोतले जनाएको छ । जिल्ला नेतृत्वले टुंगो लगाउन नसकेपछि एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्णबहादुर थापा झलारी आउदैछ्न । प्रदेश सचिव राजेन्द्रसिंह रावल निर्वाचन समितिको कार्यालय झलारी पुगिसकेका छन् । प्रदेशको नेतृत्वले सहमतिको प्रयास गर्ने र सहमति सम्भव नभए निर्वाचनमै जानुपर्ने एमाले स्रोतले जनाएको छ ।