कञ्चनपुरका ९२ वडामा आज अधिवेशन हुँदै, ३३ प्रतिशत महिला सहभागिता अनिवार्य
महेन्द्रनगर : नेकपा एमाले कञ्चनपुरले जिल्लाभरका ९२ वडामा शुक्रबार एकैपल्ट वडा अधिवेशन गर्दैछ ।
अधिवेशनबाट वडामा नयाँ नेतृत्व चयन हुने भएको छ ।
संवैधानिक अधिकारसहित स्थानीय तहको वडासम्मै अधिकार पुगेपछि पहिलोपटक हुन लागेको एमालेको वडा अधिवेशनले कार्यकर्तामा उत्साह रहेको जिल्ला उपसचिव तथा प्रचार विभाग प्रमुख रणबहादुर महराले जानकारी दिए ।
देशका अन्य क्षेत्रमा यसअघि नै वडा अधिवेशन भए पनि वर्षा र बाढीको प्रभावका कारण कञ्चनपुरमा शुक्रबार वडा अधिवेशन हुँदैछन् । वडा अधिवेशनपछि नगर अधिवेशन हुने उपसचिव महराले बताए ।
नेकपा एमालेले १०औं महाधिवेशन मंसिर १०–१२ गतेसम्म चितवनमा गर्ने निर्णय गरिसकेको छ । बिहीवार बसेको एमाले स्थायी कमिटी बैठकले महाधिवेशनमा १ हजार ५ सय ३६ प्रतिनिधि सहभागी हुने निर्णय गरेको छ ।
‘महाधिवेशन प्रतिनिधिमा ३३ प्रतिशत महिला सहभागिता हुनेछ । खुला प्रतिनिधि ४९ प्रतिशत र समावेशी प्रतिनिधि ५१ प्रतिशत हुनेछन्,’ एमाले प्रवक्ता तथा सचिव प्रदीप ज्ञवालीले बैठकपछि जानकारी दिँदै भने ।