संघको कार्यसमिति सदस्य हुँदै प्रदेश निर्माण व्यवसायी महासंघको सदस्य, सचिव र उपाध्यक्षसम्मको यात्रा तय गरेका बम लामो समयदेखि व्यवसायी आन्दोलन र नेतृत्वमा सक्रिय छन्। उनी स्वस्थ प्रतिस्पर्धा अभावले व्यवसायीहरू मारमा परेको भन्दै त्यसलाई सुधार्ने उद्देश्यसहित चुनावी मैदानमा उत्रिएका हुन्।
महेन्द्रनगर – निर्माण व्यवसायी महासंघका जिल्ला र प्रदेशस्तरका विभिन्न पदमा काम गरिसकेका भेट्रान व्यवसायी अमर बहादुर बम निर्माण व्यवसायी संघ कञ्चनपुरको आसन्न १५ औं महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार बनेका छन्।
संघको कार्यसमिति सदस्य हुँदै प्रदेश निर्माण व्यवसायी महासंघको सदस्य, सचिव र उपाध्यक्षसम्मको यात्रा तय गरेका बम लामो समयदेखि व्यवसायी आन्दोलन र नेतृत्वमा सक्रिय छन्। उनी स्वस्थ प्रतिस्पर्धा अभावले व्यवसायीहरू मारमा परेको भन्दै त्यसलाई सुधार्ने उद्देश्यसहित चुनावी मैदानमा उत्रिएका हुन्।
अस्मिता बिल्डर्स प्रालि दर्ता गरी २५ वर्षअघि निर्माण क्षेत्रमा प्रवेश गरेका बम यतिबेला व्यवसायीका समस्या र समाधानका उपायसँग नजिक परिचित छन्। संघमा समेत २५ वर्षदेखि आवद्ध उनी आफ्ना अनुभवका कारण व्यवसायीहरूका लागि प्रभावकारी नेतृत्व दिन सक्ने विश्वास व्यक्त गर्छन्।
“विगतमा निर्माण व्यवसायी संघ कञ्चनपुरको विधान संशोधनका लागि समिति बनेको थियो तर काम पूरा भएन, अब त्यो कार्य सम्पन्न गर्नु मेरो प्रमुख लक्ष्य हो,” बमले भने, “अस्वस्थ प्रतिस्पर्धा हटाउने र महासंघसँग मिलेर व्यवसायीका हकहितका लागि निरन्तर दबाब दिने योजना छ।”
पुष्पराज अवस्थीको प्यानलबाट उम्मेदवारी दिएका बमले संघ बाहिर रहेका व्यवसायीलाई आवद्ध गर्ने, ल्याब स्थापना गर्ने, साना व्यवसायीका हकहितमा काम गर्ने र कार्यालय–व्यवसायीबीचको सम्बन्धलाई सहज बनाउनेजस्ता एजेन्डा अघि सारेका छन्।
निर्माण व्यवसायी संघ कञ्चनपुरको १५ औं अधिवेशन आगामी भदौ २० र २१ गते महेन्द्रनगरमा हुँदैछ। पहिलो दिन साधारणसभा र उम्मेदवारी दर्ता हुने कार्यक्रम छ भने दोस्रो दिन निर्वाचन सम्पन्न हुने तय भएको छ।
