निर्माण व्यवसायी संघ कञ्चनपुरको अधिवेशन
महेन्द्रनगर – कुनै पनि क्षेत्रमा २५ वर्ष बिताउनु भनेको त्यसप्रतिको मिहिनेत र लगावको परिणाम हो। पेशा–व्यवसायप्रतिको निरन्तर लगावले नै मानिसलाई सफल बनाउँछ। यही तथ्यलाई पुष्टि गर्दै २५ वर्षदेखि निर्माण व्यवसायमा सक्रिय वरिष्ठ व्यवसायी देवीदत्त भट्ट निर्माण व्यवसायी संघ कञ्चनपुरको आसन्न १५ औं अधिवेशनमा महासचिव पदका उम्मेदवार बनेका छन्।
निर्माण क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भट्ट निर्धारित समयमै काम सम्पन्न गर्ने र गुणस्तरीय काम गर्ने व्यवसायीमध्ये परिचित छन्। लामो समयदेखि यसै क्षेत्रमा रहेकाले नयाँ तथा समकक्षी व्यवसायीलाई नजानेको कुरा सिकाउनेदेखि अन्य सहयोग पुर्याउने कार्यमा समेत उनी अग्रपंक्तिमा रहने गरेका छन्।
हालको कार्यसमितिमा सदस्य रहेका भट्ट आगामी कार्यसमितिमा महासचिव पदमा प्रतिस्पर्धा गर्दैछन्। “लामो समयदेखि निर्माण क्षेत्रमा छु, यही क्षेत्रलाई व्यवस्थित र सहज बनाउन मेरो उम्मेदवारी हो,” भट्टले भने, “हाम्रो टिमले एजेन्डा तय गरिसकेको छ, त्यहीअनुसार काम अघि बढाउनेछौं।”
भट्ट पुष्पराज अवस्थीको प्यानलबाट प्रतिस्पर्धामा छन्। उक्त प्यानलले संघमा आवद्ध नभएका ३ सयभन्दा बढी व्यवसायीलाई आवद्ध गराउने, साना व्यवसायीको हकहितका लागि काम गर्ने, निर्माण व्यवसायी संघकै कार्यालयमा ल्याब स्थापना गर्ने, कार्यालय र व्यवसायीबीच समन्वय गर्ने तथा समयमा भुक्तानी दिलाउनेजस्ता एजेन्डा अघि सारेको छ।
“हाल संघमा आवद्ध भएका भन्दा बढी व्यवसायी बाहिर छन्। उनीहरूलाई संघ व्यवसायीको हकहितमा काम गर्छ भन्ने विश्वास दिलाउनु हाम्रो प्राथमिकता हो,” भट्टले भने, “आवद्ध भएका र नभएका दुवै व्यवसायीलाई आफ्नो हितका लागि संघ आवश्यक छ भन्ने अनुभूति दिलाउनु हाम्रो टिमको मुख्य एजेन्डा हो।”
निर्माण व्यवसायी संघ कञ्चनपुरको १५ औं अधिवेशन आगामी भदौ २० र २१ गते महेन्द्रनगरमा हुँदैछ। २० गते साधारणसभा र उम्मेदवारी दर्ता हुने कार्यक्रम छ भने २१ गते निर्वाचन हुने तय भएको छ।
