स–सानो कामबाट व्यवसाय सुरु गरेका अवस्थी ३ दशकपछि कञ्चनपुरका अब्बल निर्माण व्यवसायी, संघलाई सबल बनाउन उम्मेदवारी
महेन्द्रनगर : समाजशास्त्रमा स्नातकोत्तर गरेपछि कहाँ जाने, के गर्ने भन्ने अन्यौलमै रहेका पुष्पराज अवस्थीले २०५४ सालमा कञ्चन राष्ट्रिय निर्माण कम्पनी दर्ता गरी निर्माण व्यवसायमा कदम राखे। स–सानो कामबाट सुरु भएको उनको यात्रा आज कञ्चनपुरका अब्बल निर्माण व्यवसायीको हैसियतमा स्थापित भएको छ।
व्यवसाय सुरुका दिन निकै चुनौतीपूर्ण थिए। स–सानो काम गरेर व्यवसायलाई टिकाए। तर, आज अवस्थीले गर्ने काम गुणस्तरीय र प्रभावकारी बनेको व्यवसायीहरु बताउँछन्।
निर्माण व्यवसायसँगै अवस्थी निर्माण व्यवसायी संघ कञ्चनपुर सँग पनि आवद्ध भए। दर्ता भएको वर्षमै संघको सदस्य बनेका उनी पछि कार्यसमिति सदस्य, २०७३ मा उपाध्यक्ष र २०७६ मा वरिष्ठ उपाध्यक्षसम्म पुगे। अहिले भने उनी संघको अध्यक्षका लागि मैदानमा होमिएका छन्।
“अहिले पनि निर्माण व्यवसाय राम्रो अवस्थामा छैन, व्यवसायीहरु धराशायी हुने अवस्थामा पुगेका छन्,” अवस्थी भन्छन्, “अस्वस्थ्य प्रतिस्पर्धा, मूल्यवृद्धि र सरकारले समयमै भुक्तानी नदिने जस्ता कारणले यो व्यवसाय जोखिममा छ।” यी समस्या समाधानका लागि आफूले उम्मेदवारी दिएको उनको दाबी छ।
उनको चुनावी प्राथमिकतामा व्यवसायीबीच स्वस्थ प्रतिस्पर्धा प्रोत्साहन, सरकारलाई समयमै भुक्तानीका लागि दबाब दिने र समयमै काम सम्पन्न नहुँदा मूल्यवृद्धिको मार व्यवसायीले नखेप्ने सुनिश्चितता समावेश छन्।
अवस्थीका अनुसार अहिले पनि करिब ३ सय निर्माण व्यवसायी संघमा आवद्ध छैनन्। “संघप्रति उनीहरूको विश्वास बढाएर सबैलाई संस्थागत संरचनामा ल्याउने हाम्रो लक्ष्य हो,” उनले भने, “साना व्यवसायीलाई कसरी उकास्न सकिन्छ भन्नेमा मेरो ध्यान रहनेछ।”
यस्तै, अहिले निर्माणमा प्रयोग हुने वस्तुको ल्याब परीक्षणका लागि व्यवसायीहरूलाई नेपालगञ्ज पुग्नुपर्ने बाध्यता छ। यस समस्याको समाधानका लागि संघमै ल्याब स्थापना गर्ने लक्ष्य उनले सार्वजनिक गरेका छन्।
निर्माण व्यवसायी संघको अधिवेशन भदौ २० र २१ गते हुने कार्यतालिका सार्वजनिक गरिएको छ। २० गते उम्मेदवारी दर्ता र २१ गते निर्वाचन हुनेछ। आगामी निर्वाचनमा युवादेखि अग्रज सबैको साथ रहने विश्वास अवस्थीले व्यक्त गरेका छन्