निर्माण व्यवसायी संघको अधिवेशन
महेन्द्रनगर : निर्माण व्यवसायी संघ कञ्चनपुरको आसन्न १५ औं अधिवेशनका लागि पुष्पराज अवस्थीको नेतृत्वमा प्यानल घोषणा गरिएको छ। सोमबार महेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गरी अवस्थी सहितको टीम घोषणा गरिएको हो।
अवस्थीको नेतृत्वमा वरिष्ठ उपाध्यक्षमा अमर बम, उपाध्यक्षमा यज्ञराज बैज, महासचिवमा देवीदत्त भट्ट, सचिवमा गोरेसिंह ऐर, कोषाध्यक्षमा दिलबहादुर सिंह र सह-कोषाध्यक्षमा चित्रबहादुर कार्की रहेका छन्।
आगामी भदौ २० र २१ गते महेन्द्रनगरमा हुन लागेको संघको १५ औं अधिवेशनका लागि अवस्थी नेतृत्वमा प्रतिस्पर्धा हुने भएको हो। संघको सदस्य हुँदै वरिष्ठ उपाध्यक्षसम्मको जिम्मेवारी सम्हालिसकेका अवस्थीले नयाँ तथा युवा व्यवसायीको हकहितमा काम गर्ने उद्देश्यले उम्मेदवारी दिएको बताएका छन्।
“मेरो उम्मेदवारी सबै व्यवसायीका लागि हो। विशेषगरी साना व्यवसायीलाई कसरी उकास्न सकिन्छ भन्नेमा मेरो जोड रहनेछ,” अवस्थीले भने, “हाल करिब तीन सय व्यवसायी संघ बाहिर छन्, उनीहरूलाई पनि संघले केही गर्छ भन्ने विश्वास दिलाएर आबद्ध गराउनेछु।”
उनले यहाँका निर्माण व्यवसायीहरूले ल्याब परीक्षणका लागि नेपालगञ्ज धाउनुपर्ने बाध्यता अन्त्य गर्न संघकै कार्यालयमा ल्याब स्थापना गर्ने योजना सार्वजनिक गरे। “धेरै व्यवसायीहरू धराशायी हुने अवस्थामा पुगेका छन्, उनीहरूलाई कसरी उकास्ने भन्नेमा ध्यान दिनेछु,” अवस्थीले थपे, “सरकारले समयमै भुक्तानी नदिँदा र मूल्यवृद्धिले व्यवसायी मारमा परेका छन्। त्यसकारण समयमै भुक्तानी दिलाउन पहल गर्नेछु।” उनले आफ्नो टीम युवा व्यवसायीहरूको रहेकोले सबैलाई समेटेर काम गर्ने प्रतिबद्धता जनाए।
प्यानल घोषणा कार्यक्रमका प्रमुख अतिथि उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष सुरेश रावलले संघ–संस्थामा युवा र नयाँ व्यक्तिलाई मौका दिनुपर्नेमा जोड दिए। “एक पटक नेतृत्व सम्हालेका व्यक्तिले बारम्बार नेतृत्वमा आउन खोज्नु संस्था र व्यवसायीको हितमा हुँदैन,” उनले भने, “बारम्बार एउटै व्यक्ति नेतृत्वमा आउँदा संस्थालाई भन्दा पनि त्यस व्यक्तिलाई मात्रै फाइदा पुग्छ।”
उनले उद्योग वाणिज्य संघ र निर्माण व्यवसायी संघ दुवैमा एउटै व्यक्तिको दोहोरिने परम्परा रहेको तर त्यसले संस्थाका लागि खासै काम नगरेको टिप्पणी गरे।
यसअघि हालका अध्यक्ष निरञ्जन प्रसाद भट्टले आफ्नो प्यानल घोषणा गरिसकेका छन्।