झण्डै एक बर्षपछि सिटीईभीटीले दियो अनुमति, महाकाली बहुप्राविधिक शिक्षालयमा पढाई सुचारु हुने

महेन्द्रनगर : भीमदत्तनगर पालिका र महाकाली अस्पताको साझेदारीमा स्थापना गर्न लागिएको महाकाली बहुप्राविधिक शिक्षालयमा पढाई शुरु हुने भएको छ ।

ब्यावसायिक शिक्षा तथा ब्यावसायिक तालिम परिषद (सिटीईभीटी) ले झण्डै एक बर्ष पछि पढाई सुचारु गर्न अनुमति दिएको हो । एक बर्षअघि नै पढाई सुचारु गर्ने भनिएपनि सिटीईभीटीमा फायल अडकिदा रोकिएको थियो ।

भीमदत्तनगर पालिकाले सरकारी तवरमा प्राविधिक शिक्षा सञ्चालन गर्न महाकाली अस्पतालसंग साझेदारी गरेर प्रकृया अघि बढाएको थियो । यद्दपि नगरपालिकाले ७ वटा बिषयमा अनुमति माग गरेपनि सिटीईभीटीले हाल २ वटा बिषयका लागि मात्रै अनुमति दिएको छ ।

महाकाली अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष कृष्ण जोशीका अनुसार सिटीईभीटीले डिप्लोमा इन फारर्मेसी र प्रमाण पत्र तह हेल्थ ल्याब टेक्नोलोजी बिषयका लागि अनुमति प्रदान गरेको छ । फारमेसीका लागि ४० र हेल्थ ल्याब टेक्नोलोजीका लागि ३० कोटा राखिएको छ ।

‘लामो सघर्षपछि दुई बिषयका लागि अनुमति पाएका छौ’ महाकाली अस्पातल ब्यवस्थापन समितिका अध्यक्ष कृष्ण जोशीले भने ‘ दुखको कुरा सबै बिषयको पाइएन, थप अन्य बिषयहरुको अनुमतिका लागि प्रकृयामा छौ ।’
अध्यक्ष जोशीका अनुसार तीहार लगत्तै भर्ना खोलेर पढाई सुचारु गरिने उनले बताए ।

भीमदत्त नगरपालिकाले प्रमाण पत्र तह नर्सिङ्ग, सामान्य चिकित्सा, मेडिकल ल्याब टेक्नोलोजी, डेन्टल साईन्स, रेडियो डाइग्नोष्टिक, अप्थाल्मिक साइन्स र डिप्लोमा इन फार्मेसीका लागि अनुमति माग गरेको थियो । यी मध्ये डिप्लोमा इन फारर्मेसी र प्रमाण पत्र तह हेल्थ ल्याब टेक्नोलोजीलाई अनुमति प्रदान गरेको हो ।

भौतिक पूर्वाधार, जनशक्ति लगायतको ब्यवस्थापन गरी सबै ७ बिषयहरुको पढाई सुचारु गर्न २०७७ मंसिर ३ गते सिटीईभीटीले सहमति दिएको थियो । नगरपालिकाले र्बैजनाथ इन्जिनियरिङ्ग कलेजमा सम्पूर्ण पूर्वाधार तयार गरेपनि पढाई सुचारुको अनुमति दिन सिटीईभीटीले आलटाल गर्दै आएको थियो ।

अन्य बिषयहरु श्वास्थ्य मन्त्रीको बहाली पछि प्रकृया अघि बढ्ने भएको छ । भीमदत्त नगरपालिकाले महाकाली अस्पतालका अध्यक्ष जोशी र फोकल पर्सन पंकज रावललाई महाकाली बहुप्राविधिक शिक्षालयको स्थापनाका लागि जिम्मेवारी तोकेको थियो । झण्डै एक बर्षदेखि दुवैजना काठमाडौमा मन्त्रालय र सिटीईभीटीको कार्यालयमा धाईरहेका थिए ।

मंगलबार भीमदत्त नगरपालिका प्रमुख सुरेन्द्र बिष्ट र सांसद निरुपाल सहितको टोलीलाई अनुमति पत्र हस्तान्तरण गरेको हो । ‘ढिलो भएपनि शुरुवात भएको छ’ भीमदत्त नगरप्रमुख सुरेन्द्र बिष्टले भने ‘थप बिषयहरुको अनुमति पनि छिट्टै पाउने आसा छ ।’ प्राविधिक शिक्षा पढ्न चाहनेहरुका लागि अब निजी क्षेत्र धाउनु पर्ने समस्या हटेको छ । ‘सस्तो र गुणस्तरिय शिक्षा सरकारी तवरबाटै बिद्यार्थीहरुले पाउने छन् ।

सांसद निरुपालले पनि सरकारी तवरबाट बिद्यार्थीहरुलाई प्राविधिक शिक्षा अध्यन गराउने चाहना पुरा भएको बताईन् । ‘बिगतमा निजीमा भर्ना नपाएपछि नचाहेर अन्य बिषय पढनु पर्ने बाध्यता हटेको छ’ उनले भनिन ।

भीमदत्त नगर प्रमुख सुरेन्द्र बिष्ट, सांसद दिपक भट्ट, र सांसद निरुपालले महाकाली प्राविधिक शिक्षालय स्थापनका लागि ठूलो पहल गरेका हुन । भीमदत्त नगरपालिकाको लागि महाकाली प्राविधिक शिक्षालय नमुना प्रोजेक्टकका रुपमा थियो । प्राविधिक शिक्षालय स्थापना भीमदत्त नगरपािलकाको महत्वपूर्ण उपलब्धी पनि हो ।

प्रतिक्रिया दिनुहोस्