९ वर्षकै उमेरमा नेबिसंघ !

महेन्द्रनगर : स्थानीय तहको निर्वाचनमा कञ्चनपुरका ९ पालिकामध्ये कांग्रेसबाट विजयी हुने एक्ली उपमेयर हुन सुशिला चन्द सिंह ।

शालिन नेतृका रुपमा चिनिने सिंह महिला अधिकारकर्मीका रुपमा पनि परिचित छिन् । लामो समयदेखि काँग्रेस राजनीतिमा संक्रिय उनको पार्टीमा आबद्धताको संयोग पनि रोचक छ ।

उनी बैतडीको तल्लो स्वराड क्षेत्रका कुलाउँ निमावि कुलाउँमा अध्ययन गरिरहेकी थिइन् । २०४६ सालको कुरा हो । विद्यालयहरुमा नेपाल विद्यार्थी संघको इकाई गठन गर्ने क्रममा जिल्लाको टोली कुलाउ निमाविमा पुग्यो । त्यतिबेला १२ वर्ष उमेर पुगेकालाई मात्रै इकाई समितिमा राख्ने प्रावधान थियो ।

तर छात्रा कोही नपाएपछि उनलाई ९ वर्षकै उमेरमा इकाई समितिमा राखिएको थियो । त्यहि बेला देखि उनी राजनीतिमा सक्रिय भएर लागेकी हुन् । नेविसंघ हुदै उनी २०५६ मा बैतडीबाट शिक्षक संघमा पनि क्षेत्रिय सदस्य भएकी थिइन् ।

२०५७ मा विवाह गरेर बझाङ गएपछि २०६२ मा पोखरामा हुने भनिएको नेपाल बिद्यार्थी संघको महाधिवेशनमा उनी प्रतिनिधि छनौट भएकी थिईन । तर त्यतिबेला नेविसंघको महाधिवेशन स्थगित भएको थियो ।

२०६२ मा उनले नेपाली कांग्रेसको साधारण सदस्यता दिएकी हुन् । तीन वर्षे परीक्षणकाल सकिएपछि २०६५ मा बझाङबाटै क्रियाशील सदस्यता पाइन् ।

२०६४ मा महिला संघ बझाङको जिल्ला सचिव र महाधिवेशन प्रतिनिधि पनि भइन् । कांग्रेसको १२ औं महाधिवेशनमा बझाङको लुयाटा गाविसबाट महाधिवेशन प्रतिनिधि पनि भइन् ।

२०७० मा कञ्चनपुर बसाइ सरेपछि उनले क्रियाशिल सदस्यता पनि सारिन् । २०७१ म महिला संघ कञ्चनपुरको कोषध्यक्षमा निर्वाचित हुनुका साथै १३ औं महाधिवेशनमा उनी क्षेत्रिय प्रतिनिधिसंगै क्षेत्रिय कोषाध्यक्ष समेत भइन् ।

२०७४ को स्थानीय तहमा कञ्चनपुरका ७ नगरपालिका र २ गाउँपालिकामध्ये कांग्रेसले सिंह उम्मेद्वार रहेको भीमदत्तमा मात्रै उपप्रमुख जितेको हो ।

कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा उपमेयर सिंह कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट क्षेत्रिय सचिवको तयारीमा छिन् । कांग्रेसमा महाधिवेशनको सरगर्मी बढीरहेका बेला उनी पनि प्रतिस्पर्धामा उत्रेकी छिन् । क्षेत्रिय सचिवमा उनी प्रबल दाबेदारका रुपमा अगाडी बढेकी छन् ।

‘सानै उमेरबाटै काग्रेसको राजनितीमा सकृय छु ’ शुसिला चन्द सिंहले भनिन् ‘बाकी जिवन राजनितीमै बिताउने चाहना छ, त्यसैले कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट क्षेत्रिय सचिवमा दावेदारी हो ।’

राजनीतिमा मात्रै होइन महिला अधिकारका क्षेत्रमा पनि उनको ठुलो योगदान छ । २०६४ मा जिल्ला महिला अधिकार मञ्च बझाङको अध्यक्ष भएर उनले महिलाका हक अधिकारको सुनिश्चिताबारे थुप्रै अभियानहरु अघि सारेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्