महेन्द्रनगर । भारतको उत्तराखण्डस्थित चम्पावत जिल्लामा अवैध मादक पदार्थ कारोबारविरुद्ध सञ्चालन गरिएको प्रहरी अभियानअन्तर्गत १ नेपाली पक्राउ परेका छन्।
‘ड्रग्स फ्री उत्तराखण्ड’ बनाउने मुख्यमन्त्री पुष्कर सिंह धामीको संकल्पअनुसार सञ्चालनमा रहेको ‘ड्रग फ्री देवभूमि अभियान’लाई साकार पार्दै चम्पावत प्रहरीले १८ लाख भारतीय रुपैयाँ बराबरको एमडीएमए नामक खतरनाक ड्रग्स बरामद गरेको छ।

प्रहरी अधीक्षक अजय गणपतिले लागूऔषध तस्करीमा संलग्न व्यक्तिहरूमाथि कडा कानूनी कारबाही गर्न सम्पूर्ण थानाध्यक्षहरूलाई निर्देशन दिएका थिए। निर्देशनको पालना गर्दै बुधबार टनकपुर क्षेत्राधिकारी वन्दना वर्माको निर्देशनमा बनबसा थाना र विशेष अपरेसन समूह (एसओजी) को संयुक्त टोलीले अनुसन्धान, निगरानी तथा सूचना संकलनको माध्यमबाट १ युवकलाई पक्राउ गरेको छ।
पक्राउ परेका २४ वर्षीय विशाल नरेन्द्र भण्डारी कञ्चनपुर जिल्लाको दोधाराचाँदनीका वासिन्दा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनी हाल मुम्बईको पालघर जिल्लास्थित नालासोपारामा बसोबास गर्दै आएका थिए।

प्रहरीले उनको साथबाट १ झोलाभित्र लुकाएर राखिएको १००.०३ ग्राम एमडीएमए बरामद गरेको छ। उक्त लागूपदार्थलाई अत्यन्त खतरनाक र नशालु ‘सिन्थेटिक ड्रग्स’ मानिन्छ। प्रारम्भिक सोधपुछका क्रममा विशालले लागूपदार्थ आफ्ना भारतीय साथी कुनाल कोहली, राहुल र रोशनसँगको मिलेमतोमा मुम्बई र पिथौरागढमा वितरणको योजनाअनुसार लुकाएर राखिएको बताएका जनाइएको छ।
मुम्बई प्रहरी र पिथौरागढ प्रहरीले संयुक्त रूपमा गरेको अपरेसनमा रेड पर्न लागेपछि साथीहरूले उनलाई लागूपदार्थ सुरक्षित राख्न दिएका थिए।
घटनासँग सम्बन्धित अन्य तस्करहरूको पहिचान र खोजीको कार्य तीव्रगतिमा भइरहेको चम्पावत प्रहरीले जनाएको छ। उनीविरुद्ध बनबसा थानामा सम्बन्धित कानूनअन्तर्गत मुद्दा दर्ता गरी आवश्यक कानूनी प्रक्रिया अघि बढाइएको छ।
नेपाली पक्राउ परेको घटनाले भारत–नेपाल सीमावर्ती क्षेत्रहरूमा बढ्दो मादक पदार्थ कारोबारको गम्भीरतालाई उजागर गरेको भारतीय प्रहरीले जनाएको छ। प्रहरीले सीमापार आपराधिक गिरोहहरूविरुद्ध अझ कडा कदम चाल्ने प्रतिबद्धता जनाएको छ।