निर्माण व्यवसायी संघमा चुनावी सरगर्मी बढ्यो

अध्यक्ष भट्ट दोहोरिन खोज्दै, पुराना प्रतिस्पर्धी अवस्थीले नछाड्ने

महेन्द्रनगर । कञ्चनपुर निर्माण व्यवसायी संघको नयाँ नेतृत्व चयन हुने दिन नजिकिँदै गर्दा चुनावी सरगर्मी बढेको छ ।

भदौ २० गतेदेखि सुरु हुने साधारणसभा तथा अधिवेशनबाट नयाँ नेतृत्व चयन हुनेछ । नेतृत्वका लागि हालका अध्यक्ष निरञ्जन प्रसाद भट्टले दोहोरिने इच्छा देखाएका छन् भने पुराना प्रतिस्पर्धी पुष्पराज अवस्थीले नछाड्ने तयारी थालेका छन् ।

संघका केही पूर्वअध्यक्षहरूले सहमतिबाटै नेतृत्व चयनको प्रयास गरे पनि भट्ट र अवस्थी दुवैले अडान नछाड्ने अवस्थामा चुनावमा हुने निर्माण व्यवसायीहरूको बुझाइ छ । संघमा २९८ मतदाता रहेका छन् ।

चुनावी प्रतिस्पर्धाका लागि भट्ट पक्षले प्यानल नै बनाइसकेको छ । भट्ट पक्षबाट वरिष्ठ उपाध्यक्षमा देवबहादुर चन्द, उपाध्यक्षमा दीपक भट्ट, महासचिवमा योगेन्द्र ठकुराठी, सचिवमा वृज चन्द, कोषाध्यक्षमा तेजबहादुर चन्द उम्मेदवार बन्ने बताइएको छ । सहकोषाध्यक्ष पदमा उम्मेदवार छनोट गर्न बाँकी छ ।

अवस्थी पक्षमा पदअनुसार उम्मेदवारको नाम यकिन नभए पनि पदाधिकारीमा अमर बम (एमडी), देवीदत्त पन्त, यज्ञराज वैज, क्षेत्र कार्की, दिलबहादुर सिंह, अनिल पाण्डे उम्मेदवार बन्न सक्ने बताइएको छ ।

वाईआर कन्सट्रक्सन प्रालिका सञ्चालक भट्ट लामो समयदेखि निर्माण क्षेत्रमा क्रियाशील छन् । उनी संघको अध्यक्षमा निर्वाचित हुनुअघि २ पटक अध्यक्षको प्रतिस्पर्धामा पराजित भएका थिए ।

कञ्चन राष्ट्रिय निर्माण सेवाका सञ्चालक अवस्थी संघको सदस्य, उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष भइसकेका छन् । उनी अघिल्लो अधिवेशनको प्रतिस्पर्धामा भट्टसँग अध्यक्षमा पराजित भएका थिए ।

More From Author

लागू औषधसहित १ नेपाली भारतको चम्पावतमा पक्राउ

कूलिङ पिरियड सम्बन्धी प्रतिवेदनमाथि रामहरि खतिवडाले भने, ‘नेतृत्वसँग सल्लाह गरेर निर्णय लिन्छु’

Leave a Reply

Your email address will not be published. Required fields are marked *